अन्नपूर्ण केवलकार दसैं र तिहारको बीचमा सञ्चालन गरिने


काठमाडौं : आउँदो दसैं र तिहारबीच फेवाताल, पोखरा बजार, अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रे लगायतका हिमाल आकाशबाटै अवलोकन गदै अब केबलकारबाट ८ मिनेटमै सराङ्कोट पुगिने भएको छ ।

फेवातालको किनार पोखरा–१८ सेदीबगरबाट सराङ्कोट जाने गरी निर्माण भइरहेको केबलकारको निर्माण सकिएको अब सञ्चालनको तयारीमा रहेको अन्नपूर्ण केवलकार प्रालिका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए ।

‘कोरोना संकटका कारण केबलकार निर्माणमा ढिला भएको थियो । पहिलो लकडाउन हटेलगतै जापानी प्राविधिक टोली आएर लठ्ठो टाँग्ने र डब्बा राख्ने काम सकेपछि केबलकार सञ्चालनको तयारीमा थियो । कोरोनाको दोस्रो लहरका कारण सञ्चालन पछि सरेको हो,’ प्रालिका निर्देशक त्रिपाठीले भने ।

कोरोना संक्रमण नियन्त्रणमा आएलगतै जापानी प्राविधिक टोली पोखरा आउनेछन्। केबलकार व्यावसायीक रूपमा सञ्चालनअघि पूर्ण परीक्षण सुरु गरेर  दसैं र तिहारको बीचमा सञ्चालन गरिने उनले बताए। केबवलकारमा सराङ्कोटसम्मको शुल्क पनि निर्धारण भइसकेको छ ।

नेपालीलाई प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्नेछ। यसैगरी एसियन पर्यटकलाई प्रतिव्यक्ति ७ सय र अन्य मुलुलकका पर्यटकलाई ८ सय लाग्ने गरी टिकट शुल्क तय भएको त्रिपाठीले जानकारी दिए। विद्यार्थी र वृद्धवृद्धालाई २० देखि २५ प्रतिशतसम्म छुट दिइने पनि निर्देशक त्रिपाठीले बताए ।

पोखरा महानगरपालिकाको राजस्व निर्धारण समितिसहितको टोलीले शुल्क निर्धारण गरेको हो ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।