निर्वाचनमा माओवादी केन्द्र नै किन ?


✍️ मनहरि तिम्सिना
आगामी मंसीर ४ गते आइतबारका दिन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा एकातर्फ सत्तारूढ पाँचदलीय र अर्कोतर्फ सत्ताइतरका दलहरू सामेल हुँदैछन् । यस अर्थमा आगामी निर्वाचनमा लोकतन्त्र र निरकुंशतन्त्रबिच प्रत्यक्ष भीडन्त हुँदैछ । यो निर्वाचन केवल दलहरूबिचको प्रतिस्पर्धामात्र नभएर संविधान र लोकतन्त्रको जीवन र भविष्यसँग सम्बन्धित छ । तसर्थ, लोकतन्त्र र संविधानको रक्षाका निम्ति माओवादी पार्टी र यसका उम्मेदवारहरू रोजौं ।

. माओवादी केन्द्र नेपालको राजनीतिक परिवर्तनको नेतृत्वकारी शक्ति हो । माओवादीकै नेतृत्वमा देशमा एकात्मक सत्ताको अन्त्य भई संघीय प्रणालीमा प्रवेश गर्‍यो, राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना भयो । निरंकुशतन्त्रको अन्त्य भई लोकतान्त्रिक प्रणालीको अभ्यास भइरहेको छ । यी सम्पूर्ण परिवर्तनको निर्णायक शक्ति हो–माओवादी । तसर्थ, माओवादीको विजयले मात्र लोकतन्त्र र संविधानको रक्षा एवं थप विकास सम्भव छ ।

. क्रान्ति र शान्तिका दुवै मोर्चामा निर्णायक शक्ति हो माओवादी। २०५२–०६३ को महान् जनयुद्धको नेतृत्व गरेको माओवादी शक्तिले पछिल्लोपटक शान्तिप्रक्रियाको समेत नेतृत्व गरिरहेको छ । माओवादीकै प्रयत्नका कारण बेलाबखत हिंंसा भड्काउनका निम्ति गरिएका प्रयासहरू मत्थर भएका छन् । विस्तृत शान्ति सम्झौताका एकमात्र जीवित हस्ताक्षरकर्ता प्रचण्डकै पहलमा शान्तिप्रक्रियाका बाँकी कामहरूसमेत सम्पन्न हुने दिशातर्फ छन् । यो देशको राजनीतिक स्थिरता र आर्थिक विकासका दृष्टिले महत्वपूर्ण छ ।

. वि.सं. २०६२/०६३ को जनआन्दोलनपछि भौतिक विकासको प्रत्यक्ष नेतृत्व गर्ने शक्तिसमेत माओवादी नै हो । २०६४ को पहिलो संविधानसभाका बेला माओवादी पार्टीले नयाँ नेपालको मार्गचित्र प्रस्तुत गर्‍यो । उक्त मार्गचित्रअनुसार नै देशमा पूर्वाधार एवं मानवीय विकासका कामले गति लिएका छन् । हाल देशमा २४ वटा राष्ट्रिय गौरवका आयोजनाहरू छन्, जुन आयोजनाहरू माओवादीकै नीतिगत निर्णय र पहलमा सञ्चालनमा मात्र आएनन्, विकासको गुणात्मक प्रतिफल दिने गरी हाल निर्माण सम्पन्न गर्ने चरणमा छन् ।

. सामाजिक न्यायका दृष्टिले नेपालको संविधान विश्वमै उत्कृष्ट मानिन्छ । नर्डिक देशपछि नेपाल नै त्यस्तो देश हो जहाँ सामाजिक सुरक्षाका माध्यमबाट राज्यले अशक्त, असहाय र बिपन्न नागरिकहरूलाई अभिभावकत्व प्रदान गर्दै आएको छ । जेष्ठ नागरिक, एकल महिला, द्धन्द्धपीडित, उत्पीडित वर्ग र क्षेत्रका नागरिकलाई दर्जनौं प्रावधान राखेर सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको छ। यो सामान्य उपलब्धि पक्कै होइन ।

. माओवादी केन्द्र राष्ट्रियताको पहरेदार शक्तिसमेत हो । सत्ताको नेतृत्व गर्दा होस् वा विपक्षमा रहँदा, माओवादी नेतृत्वले राष्ट्रिय हितविपरितका कुनै पनि सन्धि सम्झौतामा हस्ताक्षर गरेको छैन । देशको स्वाभिमान झुक्ने कुनै पनि निर्णय लिएको छैन । बरू एमसीसी लगायतका परियोजनालाई राष्ट्रिय हितअनुकूल बनाउन आफ्नोतर्फबाट निरन्तर खवरदारी गरिरहेको छ ।

. सामन्ती राजतन्त्रको २५० वर्षे कार्यकालमा नभएको विकास पछिल्लो १५ वर्षमा सम्भव भएको छ। सडक पूर्वाधार, पूर्वाधार विकास, खानेपानी, शिक्षा, स्वास्थ्य, जलविद्युत लगायतका क्षेत्रमा देखिने गरी महत्वपूर्ण काम भएका छन् । प्रतिव्यक्ति आय, औसत आयुदर, मानव विकास सूचकांकका अधिकांश इन्डेक्सहरू विकासशील मुलूकसँग प्रतिस्पर्धा गर्नसकिने ठाउँमा छन् । मौलिक हकहरूको कार्यान्वयन गर्ने प्रक्रिया क्रमशः फराकिलो बन्दैछ। यसलाई नेपालको भविष्यका दृष्टिले सकारात्मक सूचकका रूपमा लिन सकिन्छ ।

. बढ्दो व्यापारघाटा, भ्रष्टाचार निवारण, वैदेशिक रोजगारीको प्रतिस्थापन जस्ता विषयहरू हाम्रो राष्ट्रिय चुनौती हुन् । यी चुनौतीको सकारात्मक सम्वोधन गरेर मात्र राजनीतिप्रति जनतामा विद्यमान विकर्षण निराकरण गर्न सकिन्छ । तर, त्यसका लागि पनि सही नीति र नेतृत्वको जरूरत पर्दछ । आगामी निर्वाचनले सत्ताको बागडोर माओवादीको हातमा सुम्पिने परिस्थितिमा उल्लेखित अधिकांश चुनौती सम्वोधन हुनेछन् ।

. राष्ट्रिय संकटको समाधानका निम्ति माओवादी नेतृत्व नै निर्णायक भूमिकामा छ । जब–जब राष्ट्रिय संकट देखा पर्दछ, तब–तब माओवादी नेतृत्वको खोजी हुन्छ । नेपाली राजनीतिमा यस्तो मानक स्थापित भइरहेको छ– हरेक समस्याको समाधान प्रचण्डसँग छ । तर, देशको समस्या सम्वोधनका निम्ति अत्यावश्यक नेतृत्व प्रचण्डलाई देशको बागडोर सुम्पिन किन हुँदैन, किन दलहरू भयभित छन् ? यो प्रश्न पनि जबर्जस्त उठ्ने गरेको छ । संकटका बेला जसले समाधान दिन सक्छ, वास्तविक नेतृत्व नै त्यही हो । तसर्थ, संकटको दीर्घकालीन समाधानका निम्ति माओवादीको बिकल्प छैन ।

. लोडसेडिङको अन्त्य, तीव्र आर्थिक विकासको सुत्रपात, कुटनीतिक सन्तुलन लगायतका विषयमा माओवादीले खेलेको भूमिका दूरगामी प्रकृति र प्रवृत्तिको छ । दोस्रो प्रधानमन्त्रीकालमा प्रचण्डको नेतृत्वमा आर्थिक–सामाजिक रूपान्तरणका जे–जति कामहरू भए, ती स्मरणीय छन् । निर्वाचनमार्फत् प्राप्त जनादेशबाट प्रचण्डको नेतृत्वमा नयाँ सरकार बन्दा विगतका अधुरा एवं अपूरा कामहरू सम्पन्न मात्र हुने छैनन्, देशले दीर्घकालसम्म स्मरण गर्नयोग्य केही नयाँ काम हुनेछन् भन्ने विश्वास गर्न सकिन्छ ।

१०. लोकतन्त्र विचार र निष्ठा त हो नै । तर, आचरण पनि महत्वपूर्ण अवयव हो। नेपालका राष्ट्रिय नेतामध्ये प्रचण्ड नै त्यस्ता नेता हुन्, जोसँग लोकतान्त्रिक कार्यशैली, सहकार्यको संस्कृति र उदार भावना छ । नदीका २ किनारलाई सम्वादको प्रक्रियाद्वारा विश्वासमा लिनसक्ने र समस्याको समाधान दिनसक्ने नेता पनि प्रचण्ड नै हुन् । त्यही भावना नै राष्ट्रिय संकट समाधानको वास्तविक सेतु पनि हो भन्न सकिन्छ।

११. देशको राजनीतिक आर्थिक रूपान्तरणको नेतृत्व गरिआएको माओवादी शक्ति विभाजित हुँदा विगतमा त्यसको प्रत्यक्ष लाभ परिवर्तनविरोधी शक्तिले लिए । तर, परिस्थितिले माओवादी शक्तिहरू क्रमशः एकीकृत हुने भौतिक र मनोवैज्ञानिक वातावरण बनेको छ । प्रचण्ड नेतृत्वको माओवादी केन्द्रबाहिर कसैको पनि राजनीतिक भविष्य सुरक्षित देखिएको छैन, क्रान्तिको सपना फक्रिएको छैन । यसले भविष्यमा माओवादी शक्तिलाई गोलबन्द गर्ने बलियो भौतिक र वैचारिक आधार खडा भएको छ, जसले राजनीतिका असंख्य निरासाहरूलाई आशाको प्राण भर्न सक्छ ।

उल्लेखित विषयहरू हाम्रो भविष्यसँग जोडिएका अहम् सवालहरू हुन् । घटनाक्रमले फेरि पनि माओवादी देशको निर्बिकल्प शक्तिका रूपमा पुनरोदय हुने संकेत देखिएको छ । तसर्थ, आगामी मंसीर ४ को निर्वाचनमा परिवर्तनको वाहक शक्तिका पक्षमा अभिमत प्रकट गरेर लोकतन्त्र र संविधानको रक्षा एवं समाजवादी नेपालको जग बसाल्ने ऐतिहासिक अवसरको सदुपयोग गरौं। फेरि पनि देश र जनताले जित्नेछन् ।