छिन्ताङ्गका सहिदहरु र सहिद दिवसबारे केही सवालहरु


– अर्जुन राई

२०३६ सालमा तत्कालिन नेकपा मालेको भुमिगत संगठन बिस्तार र स्थानिय सामन्तहरुको बिरुद्वमा किसान बिद्रोहको दमनको परिणाम थियो १६ जना सहिदहरुको शाहदत । दमनका कारुणिक दृश्यहरु फरक फरक ब्यक्ती र फरक केही पुस्तकहरु मार्फत हामीले सुन्दै र बुझ्दै आएको पनि धेरै नै भै सक्यो ।

घटना घटेको ठिक १० बर्ष पछि नेपालमा प्रजातन्त्रको पुनर्स्थापना भयो । त्यस यता नेपालमा कम्युनिष्टहरुको सरकार कति वटा बने ? झन बितेको ४ बर्षलाई हेर्ने हो भने त यत्र तत्र सर्बत्र कम्युनिष्टहरु वार्ड सदस्य देखि राष्ट्रपती सम्म । तर आज पनि त्यो शहिदभुमी जस्ताको तस्तै, सहिद परिवार उस्तै र शहिदभुमीका जनताका दिनाङ्ग दुरुस्तै २०३६ साललाई बिर्साउने गरिको छ ।

अपवादमा पार्टी र आन्दोलन भित्रकै केही टाठा बाठाहरुको बारेमा यहाँ किन भन्न पर्‍यो र ! एउटा कुरा चैं भै रहेको छ त्यहाँ, हरेक साल शहिद दिवशको आयोजना हुनेछ , केही थान ठुला, मझौला र साना कदका नेताहरु आउनेछन, छिन्ताङ्ग वीरताको गाथा गाउनेछन अनि शहिद परिवारलाई दोसल्ला ओढाएर एक बर्ष सम्मका लागि बिदा हुनेछन ।

यस्ता ३१ वटा बर्षहरु बितेछन् । ३१ वटा वर्षहरु सम्म बर्षेनी ओढाइएको खास्टोहरु सायदै भारी महशुस गरेका होलान शहिदका परिवारहरुले । यसो घोत्लिन्छु, कहाँ पुगे होलान शहिदका सपनाहरु ? पुष्पलालले पार्टी स्थापना देखि एमालेको नबौं राष्ट्रीय महाधिवेशन सम्म आईपुग्दा हामीले भनेको, लेखेको समृद्वी र समाजवाद कहिँ नआए पनि शहिदभुमीमा त आउन पर्ने हो ! बिडम्बना बिगत २५ बर्ष देखी खनिएको मोटरबाटोको आजको हालत सम्झिदा शहिदहरुको कुरा के गर्नु ?

सहिदहरुको गाथा गाएर नथाक्नेहरुको पो बेस्सरी कुरा गर्न मन लाग्छ । बाँकी समानता, अवसर, रोजगार, स्वरोजगार, रुपान्तरण, परिवर्तन अनि समाजवादको आधार तयार गर्ने भन्ने जस्ता कुरा चैं पुराण भट्याए जस्तो शिवाय अरु त के नै भो र !

अरु त भिन्नै कुरा, छिन्ताङ्गका शहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न समेत कम्युनिष्टका सरकारले भ्याएन । लेना देना समेत नभएको कांग्रेस नेतृत्वको सरकारले ५ बर्ष अगाडि राष्ट्रीय शहिद घोषणा गरे । त्यस पश्चात् केही होला भन्ने आशा थियो । चुनाब पछि नेकपाको पुरै दुई तिहाई वाला सरकार बन्यो । कम्तिमा सहिद परिवारको लागि राहतका केही कार्यक्रम बन्ला भन्ने थियो ।

तर यहाँ दु:ख लाग्दो र आश्चर्य लाग्दो बिषय त के बन्न पुग्यो भने शहिद परिवारलाई प्रती परिवार १० लाखको राहत प्याकेज उपलब्ध गराउने गृह मन्त्रालयको प्रस्ताबलाई केपी वली नेतृत्वको मन्त्रीपरिषदले स्वीकृत गर्न सकेन । कोहि प्रती कुनै गलत कुरा गर्नु छैन । तर वास्तविकता त्यही हो । तथ्य र प्रमाणले त्यही भन्छ ।

आज फेरि हामी ३२ औं शहिद सप्ताहको समयमा छौं । शहिदहरुको गाथा गाउन र खास्टो ओढाउन बडे छोटे नेताहरुको जमघट हुँदै होला । यो पुन: एक बर्षको लागि नबिकरण शिवाय केही होईन । सहिद दिवश मनाउन थालेको बितेका ३१ वटा बर्षहरुलाई हेर्ने हो भने यो भन्दा अरु भन्ने शब्दहरु पनि छैन हामी सँग । भलै यति गरेर आफुहरुलाई महान कार्य गरेको निष्कर्ष निकाल्ने, दावी गर्ने, घोषणा गर्नेहरु प्रती कुनै टिप्पणी पनि छैन ।

तर म के भन्ठान्छु भने, अब यो निरन्तरतामा क्रमभङ्ग हुनै पर्दछ । हामी बिगतको निरन्तरतामा मात्र पूरा विश्वास गर्न सक्दैनौं । हामीमा केही योजना छ, केही उद्देश्य छ, रुपान्तरण र परिवर्तनलाई आत्मसात गर्ने मात्रै होईन कार्यान्वयन गर्ने दृढ ईच्छाशक्ति छ भनेर प्रमाणित गर्ने दिनहरु ढिलो भए पनि बाँकी समयलाई चिन्नु छ ।

यी सब कामका लागि हामी मात्रै पक्कै पुर्ण हुन सक्दैनौं । यसका लागि बृहत्तर योजना, छलफल र कार्यान्वयन अब आउने दिनहरुको अनिवार्यता बनेको छ । यत्ती चैं म भन्न सक्दछु कम्तिमा भेला हुने, गाथा गाउने र खास्टो ओढाउने कामले मात्रै केहि हुनेवाला छैन ।

गत ३१ वर्ष बिताउने साथीभाईहरु सँग नि कुनै गुनासो छैन । आखिर जो सँग जे छ त्यही दिने हो । तर अब सार्थक र परिणाममुखी काम आजको आवस्यक्ता हो । त्यसका निम्ति हामी उचित पहलको प्रारम्भिक चरणमा छौं । हामीले आशा राख्नु पर्दछ, पक्कै कोहि न कोही काबिल हुनै पर्दछ । समयले त्यही भन्छ । समाजवादी उद्देश्य पूरा भएमा मात्र साँचो अर्थमा सहिदहरु प्रती सच्चा सम्मान हुनेछ ।

अन्त्यमा छिन्ताङ्ग हत्याकाण्डका सहिद लगायत विभिन्न आन्दोलनका क्रममा आफ्नो ज्यान आहुती दिने समस्त राष्ट्रिय सहिदहरु प्रती उच्च सम्मान सहित श्रद्वाञ्जली !

लेखक : नेकपा (एकीकृत समाजवादी) धनकुटाका अध्यक्ष हुनुहुन्छ ।