धरानमा साइक्लिङ प्रतियोगिता सम्पन्न


सुनसरी : धरान उपमहानगरपालिकाद्वारा साइक्लिङ प्रतियोगिता आयोजना भएको छ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवसको अवसरमा धरान उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाको आयोजना तथा सुनसरी साइक्लिङ सङ्घको संयोजनमा सो प्रतियोगिता भएको हो । प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले रिवन काटेर गरेका छन् ।

कार्यक्रममा मेयर साम्पाङले पनि प्रतियोगीसँगै केही बेर साइकल चढेका थिए । पुरस्कार वितरण कार्यक्रममा बोल्दै मेयर साम्पाङले खेलाडीहरूलाई उत्साह थप्न यस्ता प्रतियोगिता भइरहनुपर्ने बताए ।

प्रतियोगितामा महिलातर्फ निक्की नेम्वाङ पहिलो, इषा तामाङ द्वितीय र निसान चौधरी तृतीय भएका थिए भने पुरुषतर्फ किरण लिम्बू, नवीन तामाङ, अनीश तामाङ क्रमशः पहिलो, दोस्रो र तेस्रो बनेका थिए । उनीहरूले नगद क्रमशः १५, १० र ५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरूलाई मेयर साम्पाङ, उपमेयर इन्द्रविक्रम बेघालगायतले प्रमाणपत्र र नगद प्रदान गरे ।

धरान उपमहानगरपालिकाको गेटबाट सुरु प्रतियोगिता रुट चतरा लाइन, कल्याण चौक, बुद्ध चौक, रत्न चौक, मङ्गलबारे, जोरसखुवा चौक, गणेशमान चौक हुँदे धरान उपमहानगरपालिकासम्म तय भएको थियो ।

विजेताले करिब सात किलोमिटरको दुरी १६ मिनेटमा पार गरेका थिए । यो प्रतियोगिताबाट उत्कृष्ट खेलाडी मध्येबाट पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रोड रेस साइक्लिङ प्रतियोगितामा सहभागिताको लागि छनौट गरिने सुनसरी साइक्लिङ सङ्घका अध्यक्ष राजन लिम्बूले बताए ।