ए डिभिजन सुपर लिगकाे उपाधी देउराली र डाँडाबजारकाे हातमा


धनकुटा : धनकुटामा सम्पन्न जिल्लास्तरीय वाइ वाइ डाइनामाइट ए डिभिजन सुपर लिगको उपाधी देउराली युवा क्लब धनकुटा-७ ले जितेको छ । यसैगरी बी डिभिजन नकआउट फुटबल प्रतियोगिताको उपाधी डाँडाबजार युवा क्लब साँगुरीगढी – ५ ले जितेको छ ।

धनकुटा जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको उपविजेतामा ए डिभिजनतर्फ रारा समाज सेवा राजारानी र बी डिभिजनतर्फ सिंहदेवी युवा क्लब सिंधुवा भएका छन् ।

ए डिभिजन सुपर लिग विजेता देउरालीले ४० हजार रूपैयाँ र ट्रफी र उपविजेता रारा समाज सेवाले २० हजार नगद र ट्रफी प्राप्त गरेका छन् ।

बी डिभिजन नकआउट फुटबल प्रतियोगिताको विजेता डाडाँबजारले २५ हजार नगद र ट्रफी तथा उपविजेता सिंधुवाले १२ हजार ५ सय नगद र ट्रफी हात पारेका छन् ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नारासहित भएको प्रतियोगिताको समापनमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।

ए डिभीजन सुपर लिगमा ६ टिमको सहभागिता छ भने बी डिभिजन नकआउट फुटबलमा १० टोली सहभागी थिए ।

धनकुटा फुटबल संघमा १७ टिम आबद्ध रहेकोमा बी डिभिजनमा रहेको भेडेटारको पाथिभरा युवा क्लब सहभागी नभएको धनकुटा फुटबल संघका अध्यक्ष गोविन्द राईले जानकारी दिए ।

प्रतियोगितामा बी डिभिजन नकआउट फुटबलको विजेता डाडाँबजार ए डिभिजन सुपर लिगमा बढुवा भएको छ ।

ए डिभिजन सुपर लिगको अन्तिम हुने मार्गादेवी युवा क्लब धनकुटा-५ बी डिभिजनमा घटुवा भएको धनकुटा फुटबल संघका महासचिव गोपाल लिम्बूले जानकारी दिए ।