नेपालले भुटानलाई ८ विकेटले हरायाे


काठमाडौं : आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको छ । भुटानमाथि जित निकाल्दै नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको हाे ।

आइसिसी एकेडेमी ग्राउन्ड नम्बर २ दुबईमा जितका लागि ६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा इन्दु बर्मा २४ बलमा १८ रनमा अविजित रहिन् ।

अर्की ओपनर सीता रानामगर १३ बलमा २ चौका सहित १७ रनमा क्याच आउट भइन् । पहिलो विकेटका लागि सीता र इन्दुले ४.२ ओभरमा ३७ रनको साझेदारी गरेका थिए । कप्तान रुविना क्षेत्री बेलबासे १२ बलमा १ चौकासहित १० रनमा रन आउट भइन् । कविता जोशी २ बलमा चौका प्रहार गर्दै ८ रनमा अविजित रहिन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६१ रन जोडेको थियो । न्गावांग चोडेनले ३१ बलमा १ चौका सहित सर्वाधिक ११ रन बनाइन् । विकेटकिपर तथा ओपनर सोनम पाल्डोनले २९ बलमा १ चौका सहित ११ रन बनाइन् ।

पहिलो विकेटका लागि सोनम र न्गावांगले ७ ओभरमा ३० रन बनाउँदै भुटानको लागि राम्रो सुरुवात दिलाएका थिए । स्पिनर सीता रानामगरले चोडेनलाई बोल्ड आउट गरेपछि भुटानले रनको गति बढाउन सकेको थिएन ।

सीतालेनै सोनमलाई सरस्वती कुमारी चौधरीबाट क्याच गराएकी थिइन् । सीताले डेचेन वांगमो २ रनमा कटएण्ड बोल्ड आउट गरिन् । सोनम चोडेन ६ रनमा अविजित रहे । सीता रानामगरले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । करुणा भण्डारीले ४ ओभरमा १ मेडन सहित ६ रन खर्चेर १ विकेट लिइन् ।

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । नेपाललाई शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्न बाँकी तीन खेलमा जित्नुपर्छ ।