सिटीलाई कीर्तिमानी लगातार चौथो पटक लिग कपको उपाधि


एजेन्सी : म्यान्चेस्टर सिटीले कीर्तिमानी लगातार चौथो पटक लिग कपको उपाधि जितेको छ । वेम्बली स्टेडियममा टोटनहम हटस्पर्सलाई १–० ले पराजित गर्दै सिटीले उपाधिमाथि कब्जा जमाएको हो ।

खेलको ८२ औँ मिनेटमा एमेरिक लापोर्टेले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । केभिन डि ब्रुयनाको फ्रिकिकलाई हेड गर्दै लापोर्टेले जाली चुमाएका थिए । योसँगै सिटीले १९८० ताका लिभरपुलले बनाएको कीर्तिमान बराबरी गरेको छ । लिभरपुलसँगे सिटीको यो सर्वाधिक आठौँ लिग कप उपाधि पनि हो ।

नयाँ प्रशिक्षक रायन मेसनको नेतृत्वमा स्पर्सले सिटीलाई दबाब राख्न असफल भएको थियो । स्पर्सले पछिल्ला तीन फाइनल गुमाएको छ ।

लामो समयपछि फुटबल समर्थकहरुलाई मैदानमा प्रवेश गर्ने अनुमति दिइएको थियो । मैदानमा दुवै टोलीका २–२ हजार समर्थकसहित ८ हजार जनालाई मैदानमा उपस्थित हुने अनुमति दिइएको थियो ।

सिटीले अब बुधबार च्याम्पियन्स लिगको सेमिफाइनलमा पेरिस सेन्ट जर्मेनको सामना गरेको छ ।