त्रिदेशीय कपका विजेता खेलाडीलाई सरकारले जनही चार/चार लाख दिने



काठमाडौं : सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार/चार लाख रुपैयाँ दिने भएको छ ।

शुक्रवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार/चार लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा गएको सोमवार भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो ।

नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ ।

नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री ओली दशरथ रङ्गशाला पगेका थिए । नेपालको तर्फबाट दुवै गोल हुँदा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गरेका थिए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पनि विजेता खेलाडीलाई जनही एक लाख रुपैया पुरस्कार दिने घोषणा गरिसकेको छ ।