स्वास्थ्य मापदण्ड पालना गरेर रथयात्रा निकाल्न मुख्यमन्त्री राईको निर्देशन


विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गर्दै सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन निर्देशन दिएका छन् ।

विराटनगरमा हुने ऐतिहासिक राधाकृष्ण रथयात्राका लागि कोरोना भाइरस रोग (कोभिड –१९) सँग सम्बन्धित मापदण्डहरू पालना गर्न समेत उनले निर्देशन दिएका हुन ।

मुख्यमन्त्री राईले मंगलबार रथयात्रा आयोजक, सरोकारवाला साथै सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा स्वास्थ्य मापदण्ड पालना गर्दै सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन निर्देशन दिएका हुन् ।

प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने कृष्ण रथयात्रामा कोभिड महामारीका कारण २ वर्षदेखि रोक लगाइएको थियो। यो वर्ष पनि कोभिड –१९ बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले रथयात्रा निकाल्न अनुमति दिएको थिएन ।

तर आयोजक कमिटीले रथयात्रा निकाल्न दबाब दिएपछि प्रशासनले अनुमति दिएको थियो । छलफलमा नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, नेपाली सेनाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रदेश १ मुख्यसचिव सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तथा रथ आयोजक समिति लगायतको उपस्थिति रहेको थियो । विराटनगरमा भदौ ४ गते ५४ औँ रथयात्रा निकालिने भएको हो ।