यसपटककाे स्थानीय तह निर्वाचनमा खुम्चियो एमाले


धनकुटा : यहीँ बैशाख ३० गते सम्पन्न भएको, स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम आइसक्दा अघिल्लो पटक क्लीन स्वीप गरेको नेकपा एमाले ३ पालिका प्रमुख र ६ उपप्रमुखमा खुम्चिएको छ ।

२०७४ मा स्थानीय तहको निर्वाचनमा, सात वटै पालिकामा जित हात परेर धनकुटालाई क्लीन स्वीप गरेको नेकपा एमाले पाँच वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा खुम्चिएको छ ।

धनकुटामा पाँच दलीय गठबन्धन कायम रहेका कारण एमालेले आफ्नो विरासत गुमाउँदा नेपाली कांग्रेसले ४ वटा पालिका प्रमुख पाएको छ भने नेकपा एमालेले एउटा मात्र उपप्रमुख गुमाएको छ । यसअघि सात वटै पालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख जितेको थियो ।

यो पटक नेकपा माओवादी केन्द्रले एउटा पालिका उपप्रमुख पाएको छ । सत्ता साझेदार अर्काे दल नेकपा एकीकृत समाजवादीले सहिदभुमी गाउँपालिका प्रमुख पदमा झिनो अन्तरले पराजित हुँदा नेकपा एमालेले जित हात पारेको छ ।

नेकपा एकीकृत समाजवादीले धनकुटामा एक सदस्यसमेत जित हात पार्न सकेन । एमालेसँग विभाजन हुँदा एकीकृत समाजवादीको ३ जना वडा अध्यक्ष थिए ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा ४३ वटा वडा अध्यक्ष जितेको नेकपा एमाले योपटक ३१ मा खुम्चिएको छ । नेपाली कांग्रेसले अघिल्लो पटक ९ जना वडा अध्यक्ष जितेकोमा योपटक २५ जना पु¥याएको छ । ५ वटा वडा जितेको माओवादी यो पटक ३ वटा वडामा खुम्चिएको छ । जसपाले एउटा वडा जितेको छ ।