पाख्रिवास नगरपालिकाका उपमेयर र वडाध्यक्षकाे उम्मेदवारविरुद्ध उजुरी


धनकुटा : प्रचलित ऐनभन्दा बढी सेवासुविधा लिएको भन्दै पाख्रिवास नगरपालिकाका उपमेयर र वडाध्यक्षका उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

नेकपा एमालेको तर्फबाट पाख्रिवास नगरपालिकाको उपमेयर पदका उम्मेदवार नम्रता देउजा गौतम र सोही पाटीबाट वडा नं. १० का वडाध्यक्ष पदका उम्मेदवार हरिबहादुर खत्रीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख जयराम श्रेष्ठले बताए ।

उपमेयर पदकी उम्मेदवार गौतम अघिल्लो पाख्रिवास नगरपालिका कार्यपालिका सदस्य हुन् भने वडाध्यक्ष पदका उम्मेदवार खत्री १० नं. वडाका निवर्तमान वडाध्यक्ष समेत हुन् ।  उनीहरु विरुद्धको उजुरी पत्रमा पदमा रहँदा प्रचलित ऐनभन्दा बढी सेवासुविधा लिएको आरोप छ ।

बुधबार र बिहीबार मनोनयन पत्र जाँचबुझको समय रहेको हुँदा भोलिसम्म उजुरीको सुनवाइ हुने कार्यालय प्रमुख श्रेष्ठले बताए । उनका अनुसार उजुरीमा उल्लेखित कुरा प्रमाणित भए उम्मेदवारी खारेज हुने र यदि गलत भए उम्मेदवारले क्लीनचिट पाउनेछन्।अन्नपूर्ण पाेष्ट