प्रदेश १ सरकारले हेलिकप्टर खरिद गर्ने


विराटनगर : विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने भन्दै प्रदेश १ सरकारले हेलिकप्टर खरिद गर्ने भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई एउटा हेलिकप्टर आवश्यक रहेको बताउँदै सङ्घीय सरकारले उपलब्ध नगराए प्रदेश सरकारले नै खरिद गर्ने बताएका हुन् ।

मङ्गलबार पत्रकार सम्मेलन गर्दै मन्त्री कार्कीले हेलिकप्टर विलासिताका लागि मन्त्री सवार हुन नभई प्राकृतिक विपत्तिमा घाइतेहरूको उद्धारका लागि खरिद गर्न लागिएको बताए ।

‘सङ्घीय सरकारको भर पर्नुपर्दा आपतविपदमा राहत वितरण र उद्धार कार्यमा ढिलासुस्ती हुने गरेकोले प्रदेश सरकारको आफ्नै हेलिकप्टर भए विपद् व्यवस्थापन कार्य प्रभावकारी बनाउन सकिने थियो । कि त्यो सङ्घीय सरकारसँग मागेर हुन्छ या त प्रदेश सरकारले आफैँ खरिद गरेर हुन्छ हेलिकप्टरको व्यवस्था हुन्छ,’ उनले भने ।

विपदका बेला काठमाडौँबाट हेलिकप्टर आउँदा आउँदै धेरै क्षति हुने भएकाले विराटनगरमै रहनेगरी प्रदेश सरकारको मातहतमा एउटा उद्धार गर्ने हेलिकप्टर रहने मन्त्री कार्कीले बताए । सगरमाथालगायत ८ हजार माथिका अग्ला हिमालहरू प्रदेश १ मा रहेपनि उद्धारका लागि राजधानीको मुख ताक्दा उद्धारमा ढिला हुन गई विदेशी पर्यटकहरूले समेत ज्यान गुमाइरहेको उनले स्मरण गराए ।

बाढी पहिरोको विपतका बेला, पर्यटकहरू पदमार्गमा फसेको बेला वा अन्य कुनै विपतमा प्रदेश सरकारले हेलिकप्टरका लागि काठमाडौँकै मुख ताक्नु पर्ने अवस्था रहेकाले त्यो अवस्था अन्त्यका लागि प्रदेश सरकारलाई सङ्घीय सरकारले एउटा हेलिकप्टर दिनु पर्ने या त खरिदका लागि बजेटको व्यवस्था गरिदिनु पर्ने मन्त्री कार्कीले बताए ।

एउटा हेलिकप्टर १५ देखि २० करोड रुपैयाँमा किन्न सकिने भएकाले सङ्घीय सरकारले बजेटको व्यवस्था गरिदिए प्रदेश सरकारले नै हेलिकप्टर किन्ने उनले बताए । ‘गत वर्षको बाढी पहिरोले प्रदेश १ मा ७२ जनाको मृत्यु भयो’, उनले भने, ‘समयमा पहिरो गएको स्थानमा हेलिकप्टर पुग्न सकेको भए घाइतेले ज्यान गुमाउनु पर्ने अवस्था आउदैनथ्यो ।

पाँचथरमा भएको बस दुर्घटनाका घाइतेलाई पनि समयमा उद्धार गरेर विराटनगर ल्याउन सकेको भए उनीहरूले पनि अकालमा ज्यान गुमाउनु पर्ने थिएन ।’

Facebook Notice for EU! You need to login to view and post FB Comments!