एमसीसी पास भए पार्टीभित्र विद्रोह हुने चेतावनी : भण्डारी


धनकुटा : अहिले चर्चामा रहेको एमसीसीकाे विषयमा चाडै आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज भण्डारीले जोड दिएका छन् ।

नेकपा माओवादी केन्द्र धनकुटाले शनिबार धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य भण्डारीले कुनै पनि हातमा एमसीसी पास हुन नहुने र पास गर्नेपर्ने बाध्यता आइपरे संशोधन गरेर मात्रै पास गर्नुपर्ने बताएका छन् ।

संविधानसभा सदस्यसमेत रहेका भण्डारीले पार्टीको बैठकमा पनि आफुलाई जस्ताको तस्तै एमसीसी पास भए पार्टीभित्र विद्रोह हुने चेतावनी दिएको जानकारी दिए । उनले यो सरकारले जस्ताको तस्तै एमसीसी परियोजना पारित गर्ला भनेर आफुले नसोचेको पनि बताए ।

माओवादी केन्द्र धनकुटाका इन्चार्जसमेत रहेका भण्डारीले धनकुटाका स्थानीय तहहरुमा भइरहेका नितीगत भ्रष्टचार रोक्न जरुरी रहेको बताए । जिल्लामा भ्रष्टचार बढेर धनकुटेली जनताले शिर निहुरियाएर हिड्न पनि लाज भइसेकेको बताउँदै भण्डारीले जिल्लावासी एक भएर स्थानीय तहहरुमा भइरहेको भ्रष्टचारको जालो च्यात्नुपर्ने बताए ।

त्यस्तै भण्डारीले धनकुटाका जिल्लामा सञ्चालित विभित्र विकासका अायाेजनाहरु सरकारी निकाय र स्थानीय तहमा आर्थिक अनियमितता,मनपरि श्रोत साधनको दुरुपयोग ढिलासुस्ती,सेटिङ र भ्रष्टाचारजन्य गतिविधिहरु भएको व्यापक जनगुनासाे आएकाे भन्दै यस्ता गतिविधि आफ्नो पार्टीले निगरानी गर्दै गाउँ गाउँमा जनतामाझ भण्डाफाेर गर्ने वताउनु भयाे ।

धनकुटमा आएका स्वास्थ्य सामाग्रीहरुमा राजनीतिक दलहरुले खेलेको फोहोरी खेलको निन्दा गर्दै भण्डारीले जसले जस्तो अवस्थामा स्वास्थ्य सामग्रीहरु ल्याएको भए पनि धनकुटेली जनताको भएकाले सदुपयोग गर्न आग्रह गरे ।

आयोजनाका कामहरुमा आफ्नो पार्टीले निरन्तर रुपमा लागी पर्ने, सन्तुलन र नियन्त्रणको रुपले जनतामा जाने पछिल्लो पुस्तालाई फोकस गरेर अगाडी बढ्ने, पछिलो समय नेपाल कम्युनिष्ट पार्टी माओवादी अगाडी आउने बताए । त्यस्तै अहिलेको यो बिषम परिस्थितिमा धनकुटा जिल्लाका सात वटै स्थानीय तहहरुमा स्वास्थ्य सामग्रीहरु आफ्नो पहलमा ल्याएको भण्डारीले बताए ।

माओवादी केन्द्र धनकुटाले धनकुटाका ६० वटै वडामा एकैसाथ वडा सम्मेलन गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा भदौ १८ गते बसेको माओवादी केन्द्रको बैठकले असोज २० गतेभित्र धनकुटाको ६० वटा वडाहरमा एकैपटक सम्मेलन गर्ने निर्णय गरेको जानकारी दिइएको छ ।

त्यसैगरी कात्तिक ६ गते धनकुटाको सात वटै पालिकाहरुमा नगर र गाउँपालिका सम्मेलन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष ऋषीराम ढुंगानाले बताए ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य हेमराज भण्डारीको उपस्थितीमा भएको सो बैठकले जिल्लामा सञ्चालितविकास आयोजनाहरुमा भइरहेका भ्रष्टचारको भण्डाफोर गर्ने, धनकुटामा तत्काल प्रादेशिक अस्पतालसहितको मेडिकल कलेज स्थापना गर्न माग गर्ने, धनकुटामा पटकपटक हुने लोड सेडिङको अन्त्यका लागि सरकारसँग माग गर्ने लगायतका निर्णयहरु गरेको छ ।

कार्यक्रममा पार्टी जिल्ला समन्वयन समिति संयोजक ऋषिराम ढुंगाना, सरीता बराईली, धनकुटा नगरपालिका वडा नं.८ का वडाध्यक्ष सुमन राई, पदम रख्खाल र इन्द्र बहादुर विष्ट लगायतको उपस्थिति रहेको थियो ।