प्रदेश २ को प्रमुखमा नियुक्त राजेश झालाई १०१ किलोको मालाले स्वागत


जनकपुरधाम : प्रदेश २ को प्रमुखमा नियुक्त राजेश झालाई जनकपुर विमानस्थलमा १ सय १ किलोको मालाले स्वागत गरिएको छ । आइतबार दिउँसो जनकपुरधाम आएका उनलाई नेकपा केपी ओली समूहका युवाहरुले विमानस्थलमा १ सय १ किलोको माला लगाएर स्वागत गरेका हुन् ।

उनको स्वागतका लागि प्रदेश सरकारबाट भने आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंह  पनि विमानस्थल पुगेका थिए ।ओली समर्थित युवाहरुले प्रदेश प्रमुख जिन्दावाद, प्रधानमन्त्री जिन्दावाद नारा लगाएका छन् । सपथ लिने बेला दौरा, सुरुवाल र टोपी पहिरिएका झा जनकपुरधाम झरेपछि कुर्ता, पाइजामा र गम्छामा देखिए ।

झा विमानस्थल हुँदै जानकी मन्दिरमा पुगेर पूजापाठ गरेका छन् । पूजापाठ पश्चात उनी आफ्नो निवास जाने कार्यक्रम रहेको छ ।

रौतहटका झालाई फागुन ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुख (गभर्नर) मा नियुक्त गरेकी थिइन् । राष्ट्रपतिले सो प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी झालाई नियुक्त गरेकी हुन् ।