मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता


विराटनगर : प्रदेश १ मा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ ।

सोमबार बसेको प्रदेशसभा वैठकबाट माओवादी केन्द्र प्रदेस संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा गरेका हुन् । वर्तमान राजनीतिक परिस्थितीमा उक्त अविश्वासको प्रस्ताव सान्दर्भिक नभएकाले फिर्ता लिइएको उनले बताए ।

गत पुस १२ गते तत्कालीन नेकपाको प्रचण्ड–माधव नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । भर्खरै मात्र गत चैत १७ गते नेकपा एमालेको माधव नेपाल पक्षका सांसदले अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएका थिए ।