नेकपा प्रचण्ड-नेपाल पक्षको ६८ जिल्लामा नेतृत्व चयन

0Shares

काठमाडौं : नेकपाको प्रचण्ड-नेपाल पक्षले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ । प्रचण्ड-नेपाल पक्षले जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ । ओली र प्रचण्ड-नेपाल पक्ष गरी दुई समूहले बेग्लाबेग्लै गतिविधि गरिरहेका छन् ।

प्रचण्ड-नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको भोलिपल्टै जिल्लाहरूमा नेतृत्व चयन गरेका हुन् । पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन् । नौ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी नै छ ।

काठमाडौं अध्यक्षमा बसन्त मानन्धार र सचिवमा हिमाल शर्मा छन् भने ललितपुरमा अध्यक्ष हरिकृष्ण थापा र सचिव राजकाजी महर्जन छन् ।

गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार रिक्त पदमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार दिए अनुसार जिम्मेवारी दिइएको उक्त समूहले जानकारी दिएको छ ।