नेकपा एमाले निरंकुश भएको एमाले कार्यकर्ताकाे आराेप, कांग्रेसमा प्रवेश


धनकुटा : निर्वाचन घोषणा नभएपनि अहिले पार्टी प्रवेशले तीव्रता पाएको छ ।

निकट भविष्यमै स्थानीय तहको निर्वाचन हुने भएपछि सबैपार्टीहरु अर्का पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आफु तर्फ तान्न क्रियाशील भएका छन् ।

यसैक्रममा आज नेकपा एमाले पार्टी परित्याग गर्दै १ सय ५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा विगतमा एमालेका तर्फबाट स्थानीय निकायमा निर्वाचित भइसकेका स्थानीय नेतासमेत छन् ।

नेपाली कांग्रेस पाख्रीवास नगरपालिका वडा नं. २ वडा समितिको आयोजनामा सम्पन्न कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् ।

नवआगन्तुक नेता तथा कार्यकर्ताहरुलाई नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा, पार्टीका जिल्ला सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्य ज्ञानबहादुर गुरुङलगायतले स्वागत सम्मान गरेका थिए ।

सो अवसरमा नवआगन्तुकहरुलाई स्वागत गर्दै सहमहामन्त्री थापाले एमाले विकास विरोधी र जनताको सेवामा अवरोध गर्ने पार्टी रहेको आरोप लगाउँदै नवआगन्तकहरुलाई सहि पार्टीमा आउनु भएको भन्दै प्रशंसा गरे । उनले नयाँ आउनु भएकाहरुलाई योग्यताअनुसार जिम्मेवारी दिईने बताए ।

सहमहामन्त्री थापाले आफुले धनकुटा कांग्रेसको आग्रहअनुसार मित्र आफन्त र शुभचिन्तकको सहयोगमा धनकुटेली जनताको स्वास्थ्य सुरक्षाका लागि ल्याएको स्वास्थ्य सामग्रीलाई सरकारले दिएको भन्दै राजनीति गरेको आरोप लगाए । उनले एमाले सत्तामा रहदाँ पनि ल्याउन नसक्ने र आफुले ल्याएको स्वास्थ्य सामग्रीमा सरकारको एक पैसा मात्र लगानी भए आफु कार्वाही भोग्न तयार रहेको भन्दै एमालेलाई सरकारी भएको प्रमाणित गर्न चुनौति दिए ।

पूर्वमन्त्रीसमेत रहेका थापाले एमाले सरकार केन्द्रदेखि गाउँसम्म भ्रष्टाचारमा डुबेको आरोप लगाए । उनले धनकुटाका ५ वटा स्थानीय तहको मात्रै बेरुजु झण्डै २० करोड देखिएको भन्दै यस्ता भ्रष्टाचारको भण्डाफोर गर्ने बताए ।

सहमहामन्त्री थापाले एमालेका स्थानीय सरकार जनतालाई एमालेमा आउन आश देखाउने नभए त्रास देखाउने गरेको बताए । उनले एमालेको कार्यक्रमहरुमा सहभागी नभए सरकारले दिएको जस्तापाता तथा टनेलको पैसा तिर्नु पर्ने धम्की दिईरहेको आरोप लगाए ।

सो अवसरमा नवप्रवेशीको तर्फबाट विगतमा स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेको तर्फबाट सान्नेका निर्वाचित पूर्व वडाध्यक्षसमेत रहेका दिलबहादुर स्याङ्बोले एमाले काम नगरी कुरा मात्र गर्ने पार्टी रहेको भन्दै ग्रामीण क्षेत्रको विकास र जनताको उत्थान कांग्रेसबाट मात्र सम्भव रहेको बताए ।

पार्टी एमालेमा सीमित नेताबाहेकलाई लोकतन्त्र नभएको आरोप लगाए । उनले आफु लामो समयसम्म एमालेका इमान्दार सिपाही रहेर काम गरेपनि एमाले निरंकुश पञ्चायत व्यवस्था भन्दा बढी तानाशाह रहेको भन्दै स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण नभएकाले पार्टी परित्याग गरेको बताए । उनले कांग्रेसका नेताहरुले गाउँको जनताको विकासमा अझ बढ ध्यान दिन सुझाव दिए ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, सदस्यद्वय ज्ञानबहादुर गुरुङ, जयन्द्र घिसिङ, अमित ल्हो, कांग्रेस पाख्रीवास नगर सभापति प्रेम भण्डारी, धनकुटा वडा १ वडा समितिका वडा सभापति वीवी तितुङ र नेविसंघका नेतृ करुणा कटवालले एमालेले जनतामा पारिरहेको भ्रमलाई चिर्दै जनतालाई वास्तविकता बुझाउनु पर्ने बताए ।

कार्यक्रम पाख्रीवास २ नं वडा सभापति धनबहादुर मगरको अध्यक्षतामा सम्पन्न भएको थयो । सन्तोष मानन्धरले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वडा उपसभापति दिलकुमार तामाङले गरेका थिए ।