गण्डकीमा वैकल्पिक सरकार गठन गर्न दलहरुलाई २४ घण्टाको समय


पोखरा : गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार वैकल्पिक सरकार गठनको लागि आह्वान गरेकी छन् । उनले संविधानको धारा १६८ उपधारा ५ बमोजिमको सरकार गठनका लागि शनिबार दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेकी हुन् ।

बैशाख २९ गते संविधानको धारा १६८ (३) बमोजिम प्रदेश सभाको सबभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले बिहीबार सदनमा विश्वासको मत मागेका थिए । ६० सदस्यीय प्रदेश सभामा जम्मा २७ मत पाएका उनी स्वत पदमुक्त भए ।

६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ मतको आवश्यकता पर्छ । त्यसरी गठन हुने नयाँ सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् । विपक्षी गठबनधनको पक्षमा १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादी पार्टीका २ गरी ३० मत छ ।

जनमोर्चाका सांसद कृष्ण थापाले भने पार्टी ह्विप उल्लंघन गर्दा पुनः कारवाहीमा परेका छन् । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिएर विपक्षी गठबन्धनलाई साथ दिने बताइसकेका छन् ।

यसरी हेर्दा विपक्षी गठबन्धनको पक्षमा ३१ सांसद पुग्ने देखिन्छ । प्रदेश प्रमुखको आह्वानपछि स–शरीर बहुमत सांसद उपस्थित गराउने विपक्षीको तयारी छ । गठबन्धनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई यसअघि नै सरकारको नेतृत्वका लागि अघि सारेको छ ।