धनकुटामा एमालेको समानान्तर कमिटी गठन, अध्यक्षमा अर्जुन राई, सचिवमा खगेन्द्र सुवेदी चयन


धनकुटा : माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको एमालेले धनकुटामा समानान्तर कमिटी गठन गरेको छ ।

शनिबार धनकुटामा भएको भेलाले अर्जुन राईको अध्यक्षतामा १ सय १ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो । नव गठित कमिटीको सचिवमा खगेन्द्र सुवेदी छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका प्रदेश कमिटी सदस्य धर्मराज पौडेलले सबै नेता कार्यकर्ताहरूलाई एकता विरोधी र विधान विपरीत कार्य नगर्न र एकताबद्ध कम्युनिष्ट पार्टीको निम्ति लागिरहन आग्रह गरे ।

भेलाले नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी ओलीले विधान विपरीत केन्द्रीय पदाधिकारी र केन्द्रीय कमिटी विगठन गर्दै गरेका कार्यहरुप्रति घोर निन्दा र आपत्ति जनाएको छ ।

सर्वोच्च अदालतले पुरानो पार्टी व्युताउने निर्णय कानुन राजनीतिक कोणबाट समेत अप्राकृतिक रहेको ठहर गर्दै भेलाले बृहत वाम एकता गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने आजको आवश्यकता रहेको राईले बताए ।

नेपाल – खनाल नेतृत्वको एमालेले यस अघि कास्की, गोरखा लगायत गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी गठन गरिसकेको छ भने भेलाले सबै नेता कार्यकर्तालाई कम्युनिष्ट एकताको पक्षमा लाग्न आब्हान गरेको छ ।