अस्पतालमा बढ्न थाले संक्रमित


काठमाडौं : एक सातादेखि तीव्र गतिमा वृद्धि हुँदै गएको कोरोना संक्रमणसँगै उपत्यकाका मुख्य कोभिड अस्पतालमा बिरामी भर्नादर वृद्धि हुँदै गएको छ ।

एक साताअघिसम्म १३ जना कोरोना संक्रमित रहेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार ३८ जना पुगेका छन्। तीमध्येमा नौजना गत २४ घण्टामा भर्ना भएका हुन्। २७ जना जनरल वार्ड र ११ जना आइसियुमा रहेका छन् ।

संक्रमित बढ्न थालेपछि अस्पतालले ननकोभिड वार्डलाई कोभिडमा विस्तार गर्न सुरु गरेको छ । १८ वटा आइसियु बेड र जनरल वार्डका २० बेड कोभिड बिरामीका लागि छुट्याएपनि अपुग भएपछि ननकोभिड वार्डलाई पनि कोभिड बनाईएको छ ।

यस्तै युनिफाइड कोभिड अस्पताल वीरमा बिहीबारसम्म भर्ना भएका संक्रमितको संख्या ४६ पुगेको छ। त्यहाँ दस दिनअघिसम्म आठ जनामात्र कोभिडका बिरामी थिए ।

त्यहाँ आठ जनाको आइसियु, चार जनाको भेन्टिलेटर र पाँच जना हाइडिपेन्डेन्सी युनिटमा उपचार भइरहेको छ। कोरोना संक्रमण भएर भर्ना भएकामध्ये धेरैजसो क्यान्सर, मिर्गौला, दम तथा मधुमेहका बिरामी छन्।

भर्ना भएका बिरामी ३० वर्षमाथिका छन्। तीमध्ये केहीले खोप नलिएका र केहीले खोप लिएका छन् । वीरमा भर्ना भएका मध्ये १३ जना एउटा पनि खोप नलिएका, २५ जना पूरा मात्रा खोप लिएर ६ महिना पुगिसकेका बिरामी छन् ।