काठमाडौं महानगरका चार नाकामा खोप लगाइँदै


काठमाडौं : काठमाडौं महानगरपालिकाले चार नाका कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ ।

महानगरको स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा एक महिनासम्म कोरोनाविरुद्धको खोप लगाइने जनाएको छ । मंसिर ५ गतेबाट सुरु भएको कार्यक्रम आगामी पुस ५ गतेसम्म चल्ने महानगरले जनाएको छ ।

काठमाडौं महानगर प्रवेश गर्ने १८ वर्ष उमेर पूरा भएका सबै नागरिकलाई उमेर खुलेको प्रमाण आधारमा खोप दिइने भएको छ ।

महानगरको स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले निर्धारण गरिएको चारवटै खोप केन्द्रबाट केन्द्रबाट भेरोसेल, कोभिसिल्ड/एस्ट्राजेनिका खोप उपलब्ध हुने जानकारी दिए । यससँगै महानगरका ३२ वटै वडामा यसअघि तोकिएको खोप केन्द्रबाट मंसिर ७ र ८ गते कोभिडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुनेछ ।

यसमा १८ वर्ष उमेर समूहमाथिका र यसअघि खोप लगाउन छुटेका सबै नागरिक, पहिलो मात्रा लगाएर आठ हप्ताको समय कटिसकेकाहरुलाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ । रासस