छुटेका निजामती कर्मचारीहरूले कोरोनाविरुद्धको खोप लगाए


काठमाडौं : निजामती कर्मचारीहरूले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सोमबार निजामती सेवा दिवस २०७८ को अवसर पारेर निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले सिंहदरबारमा आयोजना गरेको खोप विशेष कार्यक्रममा खोप लगाउन बाँकी रहेका निजामती कर्मचारीहरूले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाएका हुन् ।

कर्मचारीहरूले कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य पाउनुपर्ने दबाब दिएको र सरकारले पनि सबैलाई भ्याक्सिन उपलब्ध गराउने उद्देश्य रहेकोले खोप लगाउन बाँकी रहेका तथा छुटेका निजामती कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइएको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले जानकारी दिए ।

कार्यवाहक अध्यक्ष पोखरेलले पहिलो डोज नलगाएका निजामती कर्मचारीलाई पहिलो र पहिलो लगाएर दोस्रो डोजको प्रतीक्षामा रहेकाहरूलाई पनि भ्याक्सिन उपलब्ध गराएको बताए ।

कोरोनाविरुद्धको भ्याक्सिन लगाउन बाँकी रहेका सबै निजामती कर्मचारीहरूले काठमाडौँमा सिंहदरबार र बाहिरी जिल्लाहरूमा सिडिओ कार्यालयबाट लगाउन सक्नेछन् ।