प्रहरीका भान्सामा ग्यास हटाएर इन्डक्सन चुलो राख्ने तयारी


काठमाडौं : सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भान्सामा एलपी ग्यास हटाएर विद्युतीय चुलो राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले बुधबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूसँग छलफल गर्दै ग्यासलाई इन्डक्सनले विस्थापित गर्ने कार्ययोजनाको कार्यान्वयन प्रक्रिया अघि बढाउन भनेको हो ।

बुधबारको छलफलमा सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेल, नेपाल प्रहरीका एसएसपी फणिन्द्र बराल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहभागी थिए ।

छलफलका क्रममा विद्युत् खपत तथा वातावरण संरक्षणका लागि स्वच्छ ऊर्जाको प्रयोग बढाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यारेकमा कसरी विद्युतीय उपकरणको प्रयोग बढाउन सकिन्छ भनेर राय सुझाव लिइएको थियो ।

अहिले सुरक्षा निकायका भान्सामा दाउरा विस्थापन गरी ग्यास प्रयोग हुँदै आएको छ । बुधबार मन्त्रालयसँगको छलफलका क्रममा सशस्त्र प्रहरीको भान्सामा वार्षिक १० करोड रुपैयाँ र नेपाल प्रहरीको भान्सामा वार्षिक ५० करोड रुपैयाँ बराबर ग्यासमा खर्च हुने गरेको विवरण बुझाइएको छ ।

इन्डक्सन चुलो किन्नका लागि कुनै बजेट शीर्षकबाट गृह मन्त्रालयले ५० प्रतिशत अनुदान उपलब्ध गराउन सकिनेबारे पनि छलफल भएको ऊर्जामन्त्री पम्फा भुसालको सचिवालय स्रोतले जनाएकाे छ  ।

सुरक्षा निकायमा खपत हुने ग्यासलाई विद्युतले कसरी प्रतिस्थापन गर्न सकिन्छ भनेर विस्तृत अध्ययनसहितको सुझाव दिनका लागि कार्यदल गठन गर्ने निर्णय मन्त्रालयले गरेको छ । उक्त कार्यदलमा गृह, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र सुरक्षा निकायको प्रतिनिधित्व हुने जनाइएकाे छ ।

ग्यासलाई इन्डक्सनले प्रतिस्थापन गर्ने विषयमा मन्त्रालयले नेपाली सेनासँग पनि छलफल गर्ने तयारी गरेको छ  ।