नेपाली सेनालाई भारतीय सेनाले दियाे पाँचवटा ट्रक उपहार


काठमाडौं : भारतीय सेनाले नेपाली सेनालाई पाँच वटा ‘वर्कशप ट्रक’ हस्तान्तरण गरेको छ । बिहीबार आयोजित कार्यक्रममा भारतीय सेनाले उपहारस्वरुप उक्त एलपीटीए वर्कशप ट्रकहरु नेपाली सेनालाई दिएको हो ।

नेपालस्थित भारतीय दूतावासका रक्षा सहचरी कर्णेल अमित शर्माले भारतीय सेनाको तर्फबाट नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टलाई ट्रकहरु हस्तान्तरण गरेका हुन्। ट्रकहरु कम्प्याक्ट मोबाइल वर्कशपको रुपमा प्रयोग गर्न सकिन्छ ।

रक्षा सहकार्यअन्तर्गत उपलब्ध गराइने सैन्य सामाग्रीले भारतीय सेना र नेपाली सेनाबीचको बलियो सम्बन्ध रहेको पुष्टि गर्ने भारतीय दूतावासले जनाएको छ ।

आफ्नो संगठनलाई अझ सशक्त र आधुनिक बनाउन नेपाली सेनाले गरेको प्रयासलाइ भारतीय सेनाले निरन्तर सहयोग गर्ने दूतावासले जनाएकाे छ ।

२०७५ मंसिर २८ गते नेपाल-भारत द्विपक्षीय परामर्श समूहको बैठकमा भएको सहमतिअनुसार भारतीय सेनाले उपहार स्वरुप वर्कशप ट्रक उपलब्ध गराएको नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।