चट्याङ लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु


झापा : झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका थिए ।

घाइते ठाकुरलाई तत्काल उपचारका लागि भद्रपुरको ओम साइ पाथीभरा अस्पताल ल्याइएको थियो । अस्पताल ल्याउने बित्तिकै उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

रतुवामाई ५ मोरङ निवासी ४७ वर्षीय ठाकुर एक महिना अघिदेखि उक्त स्थानमा कार्यरत थिए ।

भारतसँगको सीमा नजिक रहेको उक्त अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो । हावाहुरी र भारी वर्षासँगै परेको चट्याङले ठाकुरलाई लागेको थियो भने गस्तीमा खटिएका अरू प्रहरीहरु सुरक्षित नै छन् ।