आजदेखि २०७८ साल शुरु, एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदै


काठमाडौं : आजबाट विक्रम संवत् २०७८ सालको नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने दिनको रुपमा पनि नयाँ वर्षलाई लिने गरिन्छ ।

गत वर्ष भने कोरोना नियन्त्रणका लागि भन्दै सरकारले लकडाउन गरेको थियो । यो वर्ष लकडाउन नभए पनि कोरोना संक्रमण तीव्र रुपले फैलिरहेका बेला पनि नेपालीहरु नयाँ वर्ष मनाउन विभिन्न पर्यटकीय स्थल पुगेका छन् ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. माधव भट्टराई बताउँछन् ।

सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

गत वर्ष बन्दाबन्दीका कारण घुमफिर गर्न नपाएका नेपालीहरु यस वर्ष भने पर्यटकीय क्षेत्रमा पुगेका छन् । पोखरा, सौराहा, धुलिखेल, नगरकोट लगायतका स्थानमा नयाँ वर्ष मनाउन पुगेकाहरु देखिन्छन् । नयाँ वर्षको पहिलो दिन काठमाडौं उपत्यकाका मन्दिरहरुमा पूजा गर्नेहरु पनि उल्लेख्य देखिन्छन् ।

यस वर्ष पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गरी नयाँ वर्ष मनाउन सबैलाई अनुरोध गरेको छ ।