जो बाइडनद्वारा राष्ट्रपतिको सपथ ग्रहण, राष्ट्रिय एकताको आह्वान

0Shares

एजेन्सी : जो बाइडनले अमेरिकाका ४६‍ औँ राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन् । उनलाई बुधबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए ।

कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन्। उनी उक्त पदमा निर्वाचित प्रथम महिला हुन्। सपथ लिइसकेपछि आफ्नो पहिलो टिप्पणी गर्दै राष्ट्रपति बाइडनले भने, “यो प्रजातन्त्रको दिन हो।”

“प्रजातन्त्र निकै बहुमूल्य हुन्छ भन्ने हामीले जान्न पाएका छौँ। यो नाजुक हुन्छ र यो क्षणमा प्रजातन्त्रले जितेको छ।” नयाँ राष्ट्रपतिले समारोहमा उपस्थित दुवै पार्टीका आफ्ना पूर्ववर्ती राष्ट्रपतिहरूलाई धन्यवाद पनि दिएका थिए ।

ह्यारिसलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले सपथ ग्रहण गराएकी थिइन्। निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा भाग नलिने पूर्वघोषणा बमोजिम नै सहभागिता जनाएनन् ।

आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा उपस्थित नहुने उनी चौथो अमेरिकी राष्ट्रपति हुन्। तर उनका उपराष्ट्रपति माइक पेन्स भने समारोहमा उपस्थित थिए ।

समारोहमा भूतपूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा, जर्ज डब्ल्यू बुश र लोरा बुश, बिल र हिलरी क्लिन्टन लगायतका पाहुना उपस्थित थिए ।

डेमोक्र्याटिक सिनेटर एमी क्लोबुचरले स्वागत मन्तव्य दिँदै “आजको दिन आफूहरूको प्रजातन्त्रले आफूलाई लडेको भूईँबाट आफै उठाएको दिन हो” भनेकी छन् ।