हरेक रात अभिषेक बच्चनले सुत्नु अघि ऐश्वर्या रायसँग माफी माग्दथे, कारण यस्तो


एजेन्सी : बलिउडका निकै रुचाइएका जोडी ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको केमिस्ट्री सबैलाई मनपर्छ, यी दुईबीच वर्षौंदेखि उत्कृष्ट सम्बन्ध देखिएको छ । तर श्रीमान्–श्रीमतीबीचको एउटा सिक्रेट अभिषेक बच्चन आफैंले एउटा अन्तरवार्तामा खुलाएका छन् ।

अन्तरवार्तामा बताए रोचक किस्साः
वास्तवमा केही वर्ष अघि ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन एउटा अन्तरवार्तामा उपस्थित भएका थिए । इन्डिया डटकमको खबर अनुसार यसै अन्तरवार्तामा अभिषेक बच्चनले आफ्नो वैवाहिक जीवनको विषयमा रोचक तथ्य खुलाएका थिए ।

ऐश्वर्याले स्वीकारेकी थिइन् झगडाको कुराः
उक्त कुराकानीमा यो जोडीले आफ्नो पनि अन्य जोडीको जस्तै थुप्रै पटक बहस हुने गरेको स्वीकार गरे । ऐश्वर्याले पनि यसबारे कुरा गर्दै अभिषेक र आफूबीच कुनै न कुनै कुरामा ठाकठुक परिहाल्ने बताइन् । तर यसलाई उनले झगडा नभई असहमति बताएकी थिइन् । उनले भनिन्, ‘यस्सो ठाकठुक भएन भने त जीवन बोर भइहाल्छ नि ।’

अभिषेकले किन माग्दथे माफीः
यो कुराकानीमा अभिषेकले आफ्नो वैवाहिक जीवनलाई सही तरिकाले चलाउनका लागि एउटा गोप्य कुरा बताएका थिए । उनले भने, ‘हामीले झगडा गरेर कहिले पनि नसुत्ने निर्णय गर्यौं । त्यसैले म हरेक दिन सुत्नुभन्दा अघि हरेक गल्तीका लागि माफी माग्ने गर्दथेँ ।’

यसबारे ठट्टा गर्दै उनले भने, ‘महिला यसै पनि आफ्नो गल्ती मान्दैनन् त्यसैले धेरैजसो झगडामा मैले नै माफी माग्थेँ ।’