आफैंले बोकेको राइफल पड्किदाँ सेनाका एक सिपाही घाइते


पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाही गोली लागेर घाइते भएका छन् । पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते भएका हुन् ।

उहाँको बायाँ चिउँडोको मुनि (घाँटीको भाग) र दाहिने आँखाको मुनि (अनुहारको भाग)मा एन–१६ राइफलको गोली लागेको घाउ छ । उहाँको घाउ हेर्दा गोली छेडेर बाहिर निस्किएको जस्तो देखिन्छ । आफैंले बोकेको राइफल पड्किएर उहँ घाइते भएको सैनिक स्रोत जनाएको छ ।

गणको कार्यालय भवन पछाडिको पोष्टमा सिपाही नरेश गुरुङसहित आइतबार साँझ ६ बजेदेखि ९ बजेसम्मको पोष्ट ड्युटीमा चौहान खटिनु भएको थियो । ड्युटीमै रहेको बेला गएराति ८ः३५ बजे गोली पड्किएको आवाज आएको थियो । त्यतिखेर नरेश गुरुङ ट्वाइलेट थियो स्रोतले जनाएको छ ।

ब्यारेकभित्र रहेका सैनिकहरू गई पोष्टमा चढी हेर्दा श्यामबाबुले कोतबाट आफ्नै नाममा बुझेको एम १६ हतियारबाट एक राउण्ड फायर भएर घाइते अवस्थामा देखिएको थियो ।