क्यान्सर रोगीलाई मासिक ५ हजार रुपैयाँ दिने अर्थमन्त्रीको घोषणा


काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मृगौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार खर्च मासिक ५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

राजनीतिक आन्दोलनमा लागेर जीवन गुमाएका ब्यक्तिको परिवारका लागि मासिक ३ हजार रुपैयाँ दिने ब्यवस्था गरेको बताए ।

सरकारले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको छ ।

यसअघि केपी शर्मा ओली सरकारले अध्यादेश मार्फत ल्याइएको बजेटलाई प्रतिस्थापन गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बजेट ल्याएका हुन् ।

कुल विनियोजन मध्ये चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात् (४१.४२ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड अर्थात् (२३.१६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात् (११.६० प्रतिशत) र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात् (२३.७२ प्रतिशत) रहेको उनले जानकारी दिए ।

यसअघि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अध्यादेशबाट १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएका थिए । त्यसमा चालूतर्फ ६ खर्ब ६८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ७४ अर्ब र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब विनियोजन गरिएको थियो ।