विन्ध्यवासिनी म्युजिक अवार्डको ११ औं संस्करण चैत्र २१ गते हुने घोषणा

7Shares

काठमाडौं : नेपाली गीत संगीतको बिकास र बिस्तारको लागि बिगत लामो समय देखि अग्रज र समकालीन कलाकारहरुलाई सम्मान हौसला दिदै आएको एक प्रतिष्ठित म्युजिक कम्पनी विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउन्डेसनले आयोजना गर्ने विध्यवासिनी म्युजिक अवार्डको ११ औं संस्करण यही चैत्र २१ गते सम्पन्न गर्ने भएको छ ।

मुक्तिनाथ बिकाश बैंकको प्रस्तुतिमा रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ सम्पन्न हुन लागेको हो । मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा लालीगुराँस डेरी प्रसोधन उधोग र सारदा ग्रुप अफ कम्पनिको मुख्य प्रायोजनमा हुने अवार्डमा बिभिन्न कलाकारहरु सम्मानित हुने भएका छन् ।

सोहि क्रममा आज काठमाण्डौको इन्द्रेणी फुडल्याण्डमा रहेको लुम्बिनी हलमा बिन्ध्यवासिनी म्युजिक अवार्डको कार्यक्रमबाट सम्मानित पत्रकारकार, फाउन्डेशनका आजिवन सदस्य, कार्यसमिति र यस अघि सम्मानित भएका श्रस्टाहरुको उपस्थितिमा ११ औं बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७७ मा प्रदान गरिने पुरस्कार एवं सम्मान सम्बन्धमा छलफल सम्पन्न गरेको छ ।

छलफलबाट वरिष्ट गायक योगेश बैद्य ज्युलाई रु १ लाख धनराशी सहित लाइफ टाइम अचिभमेन्ट अवार्ड  द्वारा बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७७ मा सम्मान गरिने निर्णय भएको छ । यसैगरी संगीत साधना सम्मान रु ५० हजार धनराशी सहित बरिष्ट गायिका कुन्ती मोक्तान ज्युलाई, संगीत रत्न सम्मान रु २५ हजार धनराशी सहित गायिका माण्डवि त्रिपाठी ज्यु र कला पत्रकारिता तर्फ रु २५ हजार धनराशी सहित अनन्त वाग्ले ज्युलाई सम्मान गरिने भएको छ ।

यस अघि २०६७ सालमा भक्तराज आचार्य, २०६८ माणिक रत्न, २०६९ किरण खरेल, २०७० अम्बर गुरुङ्ग, २०७१ दिनेश अधिकारी, २०७२ प्रेमध्वज प्रधान, २०७३ दिपक जंगम, २०७४ रत्न शम्सेर थापा, २०७५ शक्ति बल्लभ र २०७६ सालमा कुमार बस्नेत ज्युलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड द्वारा आयोजक बिन्ध्यबासिनी म्युजिक प्रालिले सम्मान गरिसकेको छ ।

आज सम्पन्न छलफल कार्यक्रममा किरण खरेल, दिनेश अधिकारी, शक्ति बल्लभ, दिपक जंगम चुडामणि देवकोटा,  रमेश बि.जी, नरेश भट्टराई, रिता लिम्बु, सुमन पण्डित, शान्तिप्रिय लगायत बिन्ध्यवासिनी म्युजिक अवार्डको कार्यक्रमबाट सम्मानित पत्रकार, फाउन्डेशनका आजिवन सदस्य, कार्यसमीति र यस अघि सम्मानित भएका श्रस्टाहरुको बाक्लो उपस्थिति रहेको थियो ।