असोज ६ गते एम्बुलेन्स सञ्चालन सहयोगार्थ ‘भीषण सांगीतिक साँझ’ हुने


काठमाडौं : एम्बुलेन्स सञ्चालन सहयोगार्थ असोज ६ गते बिहीवार चर्चित गायक भीषण मुकारुङको एकल साँझ ‘भीषण सांगीतिक साँझ’ हुने भएको छ ।

भोजपुरे सेवा समाज काठमाडौंले एकल साँझको आयोजना गर्न लागेको हो । राष्ट्रिय नाचघर जमलमा हुने सांगीतिक साँझ विशुद्ध सामाजिक सेवाभावका लागि आयोजना गरिएको गायक मुकारुङले बताए ।

नेपाल जेष्ठ नागरिक संरक्षण संघ ट्याम्के मैयुङ–३ अन्नपूर्णले सञ्चालन गरिरहेको एम्बुलेन्स व्यवस्थापन सहयोगार्थ सांगीतिक साँझको आयोजना गरिएको गायक मुकारुङले बताए ।

गायक मुकारुङ भन्छन् ‘विशुद्ध सामाजिक सेवाभावको उद्देश्य राखेर सांगीतिक साँझको आयोजना गरिएको हो। यो पुण्य कामको हिस्सा हुन पाउँदा गर्व लागेको छ ।’

मुकारुङ भोजपुरको ट्याम्के मैयुङ–३ अन्नपूर्णका हुन् । दुई दशकभन्दा लामो समयदेखि सांगीतिक यात्रामा रहेका मुकारूङका विश्वासको बन्धन, सक्सेस, संवाद, माहौल, चन्द्रमुखी, एउटा सत्य लगायतका एल्बम बजारमा छन् ।

उनको अँधेरीमा जुन फूल्दा, खोर्सानी डल्ले, चन्द्रमुखी, ए सिम्मा लगायतका गीत चर्चित छन् । उनले आफ्ना चर्चित गीत साँझमा प्रस्तुत गर्ने बताएका छन् ।