निर्माणसँग गायिका प्रविशाले कसिन् लगनगाँठो


काठमाडौं : गायिका प्रविशा अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् । गत साता झापाका निर्माण सिटौलासँग इन्गेजमेन्ट गरेकी उनले आज (आइतबार) विवाह गरेकी हुन् ।

‘द भ्वाइस किड्स’मा कोच समेत रहेकी प्रविशा लामो समयदेखि झापाका निर्माण सिटौलासँग प्रेम सम्बन्धमा थिइन् । आइतबार झापाको विर्तामोडस्थित चारपानेका सिटौलासँग उनले विवाह गरेकी हुन् । उनीहरुको वैवाहिक कार्यक्रम झापाकै एक पार्टी प्यालेसमा भएको छ ।

प्रविशा पछिल्लो समयमा निकै रुचाइएकी गायिका हुन् । उनले गाएका दर्जनभन्दा बढी गीतहरु पछिल्लो समयमा निरन्तर चर्चामा रहेका छन् । हालसालै उनी बालबालिका केन्द्रित रियालिटी शो ‘द भ्वाइस किड्स’मा कोचको रुपमा पनि आवद्ध भएकी छिन् ।

यता प्रविशासँग विवाह गरेका निर्माण पेशाले इञ्जिनियर हुन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका उनी विवाहकै लागि नेपाल आएका थिए। गत बिहीबार उनीहरुको इन्गेजमेन्ट भएका थियो ।