पछिल्लो २४ घण्टामा ३,७५० जनामा कोरोना संक्रमण पुष्टि, ५,२२५ जना डिस्चार्ज, ६७ जनाको मृत्यु


काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म पीसीआर विधिबाट ६ लाख ४ हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ एन्टिजेन विधिबाट १८ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो ।

यहि अवधीमा ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् । योसंगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ । नेपालमा निको हुने दर ८६.२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ६७ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ३०५ जना पुगेको छ । नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।

पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी हुन थालेपछि सक्रिय संक्रमितको संख्या घट्दै ७५ हजार २७५ पुगेको छ । यसमध्ये ६९ हजार ६८६ जना होम आइसोलेसन, ५ हजार ५८९ जना संस्थागत आइसोलेसन, १ हजार १८९ जना आईसीयूमा र ३६६ जना भेन्टिलेटरमा रहेका छन् ।