असिनाले तरकारी नष्ट


काठमाडौं : छथरजोरपाटी गाउँपालिका–६ का अमरबहादुर थापाले २५ रोपनीमा बन्दा, आलु, मटर र साग बाली लगाएका थिए । तर, बिहीबार साँझ असिनाले सबै नष्ट गरेको छ । ८ लाख रुपैयाँ नोक्सानी भएको थापाले बताए । ‘आलुबाहेक बन्दाकोभी, मटरकोसा र साग टिप्ने बेला हुन लागेको थियो’, थापाले भने, ‘तर, विनाशकारी असिनाले सबै सोत्तर बनायो ।’

उनले लघुवित्त र सहकारीबाट ३ लाख रुपैयाँ ऋण काढेर तरकारी खेती गरेका थिए । तरकारी नष्ट भएपछि ऋण कसरी तिर्ने भन्ने चिन्ता भएको छ । यस्तो विनासकारी असिना २९ वर्षअघि २०४९ सालमा परेको उनको भनाइ छ। त्यसयता असिना परे पनि तरकारी बाली क्षति परेको थिएन । अर्का स्थानीय दीपक गुरुङको २० रोपनीमा फलेको तरकारी असिनाले चुटेर नष्ट गरिदिएको छ ।

‘बिहीबार बिहानसम्म वारी तरकारीले हरियै देखिन्थ्यो’, गुरुङले भने, ‘शुक्रबार बिहान हेर्दा जग्गा मात्रै देखें ।’ ३ लाख रुपैया नोक्सानी भएको उनले बताए ।

अर्का किसान शेरबहादुर विष्टको १० रोपनी वारीमा बन्दाकोभी फलेको थियो। केही दिनभित्रै टिपेर बजार लैजाने उनको योजना थियो। तर असिनाले नष्ट गरि जमिनमै मिलाइदिएको दुखेसो उनले पोखे ।

जिल्लामै सबैभन्दा बढी तरकारी उत्पादन हुने क्षेत्र हो, छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिका। यी दुई स्थानीय तहमा असिनापानीले ३० करोड रुपैयाँबराबरको तरकारी बाली नष्ट भएको प्रारम्भिक तथ्यांक छ ।

छथरजोरपाटीका ६ र २ वडामा पूर्ण र १ र अन्य वडामा आंशिक क्षति पुगेको छ। प्रारम्भिक विवरण हेर्दा १५ करोड रुपैयाँबराबरको क्षति भएको कृषि शाखा प्रमुख मिलन कार्कीले बताए। महालक्ष्मीका १, २, ३, ८ र ९ वडाका किसानले लगाएका तरकारी बालीमा असिनाले क्षति पुर्याउँदा १५ करोड रुपैयाँ नोम्सानी भएको प्रारम्भिक अँकडा आएको नगर प्रमुख पर्शुराम नेपालले बताए ।

करिव २ हजार घरपरिवार किसानले लगाएका बन्दाकोभी, काउली, आलु, मटरकोसा, सागलगायत तरकारी बाली असिनाले नष्ट बनाएको छ। त्यस्तै, रोप्न तयारी अवस्थामा रहेका वेर्नालाई असिनाले क्षति बनाएको छ । असिनाले किसानका टनेल घरका प्लास्टिक मात्रै होइन किसानका घरको टिनको छानोसमेत प्वाल बनाइदिएको छ।सुलभ ऋण तथा वचत सहकारी संस्था सिँधुवाका अध्यक्ष मेघेन्द्र गुरुङले  किसानले रायो र मटरकोसाको ६० प्रतिशत बाली लिइसकेको बताए । अहिले क्षति भएको ४० प्रतिशत मात्रै हो । अगुवा काउली किसानले टिप्न मात्रै लागेका थिए । काउलीमा शतप्रतिशत क्षति पुगेको छ ।

आजको अन्नपूर्ण पोस्टमा यो समाचार छ ।