देशमा आर्थिक विकास गर्न शिक्षित र दक्ष नागरिक आवश्यक रहेको छ : नेता नेपाल 

6Shares

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। नेपाल कृषिप्रधान देश भएकाले कृषिलाई पहिलो प्राथमिकता दिँदै उर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखे देशको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

विभिन्न क्षेत्रलाई प्राथमिकिकरण गर्दै अघि बढे पनि आर्थिक विकासको निम्ति मानव संशाधन पनि महत्वपूर्ण हुने भन्दै उनले शिक्षित र दक्ष नागरिक आवश्यक रहेको बताए ।

नेपालले देश कस्तो बनाउने भन्ने कुरा सरकारले चाहेर मात्रै नहुने भन्दै सिंगो प्रणाली नै परिवर्तन गर्नुपर्ने धारणा राखे। प्रणाली बनाउने कुरामा सरकारको भुमिका हुने भएपनि सरकार गम्भीर नभएको उनको भनाइ छ। देशको समस्या पहिचान गर्न सकिएन भने समस्या समाधान गर्न नसकिने भन्दै उनले देशमा देखापरेको समस्या पत्ता लगाउनुपर्नेमा जोड दिए ।

उनले नेपालमा उत्पादन हुने वस्तुहरु विदेशबाट आयात रोक्नुपर्ने बताए। आयात प्रतिस्थापन गर्ने बस्तुहरुलाई विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। विदेशबाट फर्किएका मानिसहरुको सीप, अनुभव, ज्ञान तथा पूँजी नेपालमै प्रयोग गर्नुपर्ने उनले बताए ।