नेकपा धनकुटाका अध्यक्ष राजेन्द्रकुमार राईलाई खुलापत्र

1.1K+Shares

आदरणीय दाइ, संघीय माननीय तथा नेकपा धनकुटाका अध्यक्ष ज्यु नमस्कार,

हाम्रो भेटघाट हुन छाडेको निकै अगाडि देखि हो । सोच्दै आएको थिए जिल्ला कमिटीको बैठक राख्नु होला र मेरा केही बिषयवस्तुहरु राखौंला भनेर । तर दुर्भाग्य नै भनौं तपाईले आयोजना गर्नु हुने बैठकमा उपस्थित हुन नसक्ने परिस्थितीमा राष्ट्रिय राजनीतिले पुर्‍यायो । त्यसैले दाईलाई केही बिषय, जिज्ञासा र प्रश्नहरु संप्रेषण गर्दै छु । भुल भए अग्रिम माफी चाहान्छु ।

२०५१ साल देखीको हाम्रो चिनजान बाट आजको दिन सम्म निकै लामो संगत भयो । निरन्तर सहकार्य भयो । क्याम्पस कालिन समयमा आवश्यक्ता र अभावको बिचबाट बिधार्थी राजनीती गर्दै गरेका हामीहरुलाई तपाईको सहयोग गर्ने तरिकाहरु खुबै मन पर्थ्यो । तपाईको उत्साह र निराश नहुने बानीबाट धेरैले धेरै सिक्नु छ । २०५४ सालमा तत्कालिन एमाले बिभाजन हुँदा तपाईले खेल्नु भएको भुमिकाबाट हामी युवा, बिधार्थीहरु निकै आकर्षित हुन्थियौं । जिविस उपसभापती जस्तो सार्बजनिक ओहोदामा रहदाँ समेत दर्जनौं पटक गेरुपानीको भाडाँ बोक्दै भित्तेलेखन गर्न हिंडेका सम्झनाहरु छदैंछ ।

समयक्रम संगै तपाईले जेलनेल भोगेको ईतिहास, सुर्यबहादुर थापाको गाउँमै जन्मेर पनि किशोरावस्थाबाटै तिनै महापञ्चे, सामन्तीहरुको बिरुद्वमा पौंठेजोरी खेल्दै बिद्रोहको मसाल बाल्नुभएको ईतिहास साँच्चै गर्विलो छ । तपाईको समयनिष्ठ काम गर्ने तौरतरिका सायदै कम मानिसहरु सँग हुने गर्दछ । सकृयता त तपाईको सबभन्दा लोभलाग्दो पक्ष हो । मानविय संवेदना र समस्याहरुलाई तपाईं अधिकतम बुझ्ने प्रयत्न गर्नु हुन्छ । तथापी यसका घाटानाफा हिसाब गर्ने, फरकमत, दृष्टिकोण र आलोचनाहरुलाई सकिन्जेल, हरसम्भब, भित्तामा पुर्‍याउन खोज्नु चैं तपाईको आफ्नैपन होला । असहमती र फरकमतहरु प्रती अलि बढिनै अशिष्ट र अभद्र ढङ्गले प्रस्तुत हुनु पनि दाईको आफ्नै शैली छदैंछ ।

जिल्लाको आन्तरिक पार्टी राजनीतिमा मैले जाने देखीनै तपाईं केपी ओली नजिककाहरु सँग कहिले पनि आन्तरिक सहकार्य गर्नु भएन । जसको कारण ती साथीहरु सँग हाम्रो नि सम्बन्ध औपचारिक भन्दा कहिल्यै भएन । अझ भनौं उहाँहरुले कहिले पनि हामीलाई सकारात्मक रुपले हेर्नू भएन । यसमा हाम्रै पनि कमिकमजोरी रहे होलान तर तपाईको नेतृत्वप्रती अगाध विश्वास र आशाले यस्ता कुराहरु सामान्यनै रहे ।

हामीलाई थाहा थियो हाम्रा सम्बन्धहरु बैयक्तिक होईनन । यसको आधार बिचार, दृष्टिकोण र सिद्वान्तको जगमा उभिएको छ । आन्दोलनको मर्म, भावाना, उदेश्य र गन्तव्य सम्मको सपनाहरुमा सम्बन्ध अडिएको छ । यस कुरामा म दिनको घाम जत्तिकै प्रष्ट छु । सम्बन्धहरुलाई अनेक कोणबाट साथीभाईहरुले अर्थ्याए पनि हामीलाई लागेको थियो तपाईको नेतृत्वमा धनकुटाको मुहार फेर्न सक्ने छौं । कार्यकर्ताहरुको यहि बिश्वासको आधार र समयको गति सँगै तपाईले नेतृत्वको जिम्मेवारी पाउनुभयो । एउटै कमिटीमा बसेर काम गर्ने अवसर मिल्यो । सो अवसर संगै कतिपय राजनैतिक बिषयहरुको सन्दर्भमा छलफल गर्ने, बहस गर्ने, घटनाहरुको सम्बन्धमा दृष्टिकोण निर्माण गर्ने प्रकृयामा प्रत्यक्ष सहकार्य भयो । यस सम्बन्धमा आज आएर यसो सोच्ने गर्छु निर्णय सहि होस वा गलत तर तपाईमा गल्ती भयो भन्ने कुरामा आत्मस्विकृती नगर्ने र गलतलाई सहि हो भन्ने आफ्नोपन शक्तिशाली रुपमा प्रकट हुने गर्दथ्यो ।

यहि क्रममा नेकपा एमालेको नबौं राष्ट्रीय महाधिवेशन २०७१ मा सम्पन्न हुने तय भए संगै धनकुटाबाट हामी १२ जना प्रतिनिधीको रुपमा जाने निधो भयो । हाम्रो बिश्वास छ, कम्युनिष्ट पार्टीको महाधिवेशन, सम्मेलनहरु बढी बिचार, सिद्वान्त, रणनीती, कार्यनीती जस्ता बिषयहरुको बहसमा अडिन्छन । उक्त महाधिवेशनद्वारा पारित नीति तथा कार्यक्रममा हाम्रो भुमिका उल्लेख्य नरहेनी नेतृत्व च्वयन गर्ने सम्बन्धमा भुमिका हुनेनै भयो । सम्झना हुनु पर्छ दाइ तपाईलाई केन्द्रीय सदस्यको रुपमा पाउनको लागि उ बेला हामीले गरेको कसरतहरु । तर अन्त्यमा तपाईं आफै नेताहरुको कहिल्यै पुरा नभएको आश्वासनमा परि पछाडी हटनु भयो । त्यसबेला तपाईले नेतृत्व च्वयनको सम्बन्धमा राख्नु भएको धारणा सुनेर अहिले पनि मलाई ताजुब लाग्ने गर्दछ । भन्नुहुन्थ्यो “भोट जता हाले पनि बस्न चैं चुपचाप बस्नु”। वास्तबमै त्यो कुरा सँग कम्तिमा म सहमत हुन सकिन । भन्नै पर्छ दाई त्यस पश्चात् नै तपाईं सँग मेरो राजनीतिक रुपमा त्यति सहज र सवार्धता रहेन ।

अनावश्यक जिम्मेवारी हेरफेरको नाममा जिम्मेवारी बिहिन बनाउने, धम्काउने, थर्काउने, फकाउने, एकापसमा फुटाउने र आफू राज गर्ने बिषयमा तपाईं माहिर हुनुहुन्छ भन्ने कुरा बिस्तारै बुझ्दै गए । खासगरी तपाईलाई आलोचना र फरकमत पटक्कै मन नपर्ने रहेछ भन्ने कुरा बुझे । तपाईले जे निर्णय गर्नु हुन्छ, जस्तो काम गर्नु हुन्छ त्यसको बारेमा सामुहिक छलफल नगर्ने र भेटघाट्मै पनि राय प्रकट गर्दा तपाईको निर्णय र कार्य बिपरित भयो भने त्यस्लाई असाध्यै अनुदार भएर बुझ्ने र ईगोको रुपमा लिने गम्भीर कम्जोरी रहेछ भन्ने नि बुझे । तथापी तपाईं जिल्ला नेतृत्व रहनु भएकोले सहकार्य चल्यो नै ।

म सम्झन्छु २०७० सालमा तपाईं संबिधानसभाको निर्वाचन लडिरहँदा तपाईकै कारणले धेरै नेता कार्यकर्ता मौन बसेकाले हाम्रो पक्षमा परिणाम हात लागेन । त्यो अत्यन्तै दु:खद बनेको थियो हाम्रो लागि । दोश्रो पटक संसदको निर्वाचन लडिरहदाँ नेपालको राष्ट्रीय राजनीतिमा पुरै फेरबदल आईसकेको थियो । नयाँ संविधान बनेर दुई ठुला कम्युनिष्ट पार्टीहरुको निर्वाचन समिकरण बनेको थियो । बिगत भन्दा परिस्थिती अनुकुल बनेको थियो ।

विगतको निर्वाचनताकाको सबै खाले अनुभबलाई ध्यान दिदैं पुन: सबै कुरा थाँती राखेर सबै खाले हिसाबले निर्वाचनमा खटियो । कुन गाँउ पुगिएन, कस्लाई भेट्न पुगिएन, के के गरिएन, त्यो त दाईलाई नै रामरी थाहा छ । जे होस सबै धनकुटेली नेता कार्यकर्ताहरुको एकताका साथ र समर्पणले चुनाबी नतिजा सकारात्मक रह्यो ।

आशा थियो अब हामी केही गर्न सक्छौं । तपाईं जत्तिको कम्युनिष्ट आन्दोलनमा खारिएर आएको मान्छे विधायक हुँदा मुलत: धनकुटामा समाजवादी नीतिको आधारमा उपयुक्त योजना र कार्यक्रमहरु लिएर जनताको बिचमा जानेछौं । जिल्लाका सातै तह हामीले जितेको अबस्थामा झनै सजिलोका साथ अगाडि बढ्नेछौं । तर यस्ता बिषयमा कहिले पार्टी भित्र बहस भएन । सम्झना गर्नुस त दाई तपाईलाई मैले धेरै पटक सामुहिक छलफल र निर्णयको बारेमा कुरा गरेको छु ।

स्थानीय कमिटीहरुको बैठक राखेर स्थानीय तहहरुको समिक्षा गरौं भनेको छु । जनताहरुले हामीलाई के भनी रहेका छन भनेर बुझौं भनेको छु । पार्टीको नीति र घोषणापत्र अनुसार हाम्रो बजेटहरु सञ्चालन गरौं भनेको छु । यस्ता छलफलहरुबाट भए गरेका राम्रा कामहरु आम कार्यकर्ताहरुको माध्यमबाट जनताको बिचमा जानेछन र कार्यकर्ताको सुझाब सल्लाहहरु सांसद र स्थानिय सरकारले सुनेर कार्यान्वयन गरे सबैको अपनत्व महशुस हुनेहुदाँ पार्टी एक ढिक्का हुनेछ र फेरि आउने चुनाबमा हामीलाई अझै सजिलो हुनेछ भनेको छु । धेरै पटक धनकुटाको एकमुष्ट रुपमा समाजवादी नीति र कार्यक्रम बनाउँ र जिल्ला कार्यकर्ता भेलाको आयोजना गरि आम कार्यकर्ताको प्रत्यक्ष संलग्नतामा पास गराउँ भनेको छु । सांसद र स्थानिय सरकारहरुले गरेका र गर्ने सबै खाले कार्यहरुमा सामुहिक अपनत्व रहने गरि बिधीको बिकास गरौं भनेको छु । तर दुर्भाग्य, सांसद र स्थानिय तहमा रहनु भएका कमरेडहरुको नजिक रहने निश्चित साथीभाईहरु बाहेक कहाँ के हुँदै छ भन्ने बिषयहरुमा जिल्ला कमिटीमै रहेका साथीभाईहरु अनबिज्ञ रहने वातावरण यो बितेको पुरै चार बर्ष रह्यो ।

मैले यस्ता बिषयहरुको बारेमा तपाईं सांसद हुनुभएको झण्डै १ बर्ष सम्म निरन्तर भन्दै आएको सम्झना गर्नु नै भएको छ होला । तर अरु बृहद योजना बनाउने छलफल गर्नु त के तपाईकै हातले बितरण गर्ने संसद बिकास कोष समेत पुरानो सामन्ती संस्कारकै निरन्तरतामा सञ्चालन गर्नु भयो । आवश्यक्ताको पहिचान कहिल्यै गर्नु भएन । मन परेका र माग्न आउनेहरुलाई भागशान्ती लाउने हिजोका पुरानो पञ्चे र सामन्तहरुले गर्ने तरिका र शैली भन्दा फरक देखिएन । नेतृत्व त्यसै नेतृत्व हुदैन, आम भन्दा माथी रहेर देख्न, सुन्न सक्नुपर्दथ्यो । तर अहँ बितेको यो ३ बर्षहरुमा किन हो मैले तपाईमा त्यो भेट्न सकिन । त्यस पश्चात् मैले भन्न छाडे किनकी तपाईबाट यो सामुहिकत्व कार्यान्वयन हुन सक्दैन भन्ने निष्कर्षमा पुगे ।

यस्तै यस्तै बिषयमा तपाईं र मेरो मत मिलेन । लगभग संवादहिन अवस्थामा रह्यौं । यस्तो बिचमा बिधार्थी र युवाका थुप्रै कार्यकर्ता भेलाहरु वार्ड तहहरु सम्म सम्पन्न भए । त्यस्ता भेलाहरुमा स्व:स्फुर्त निम्तो भए पछि नजाने कुरै भएन । जान्थे पार्टीको नीति, बिचारको बारेमा जाने बुझे सम्म राखिन्थ्यो । तर हामी जाने कार्यक्रमहरु स्थगित गर्न लगाउने, बोल्न दिन नलाउने र स्थानिय साथीहरुलाई गाली गर्ने, थर्काउने आदि जस्ता सार्‍है निकृष्ट कामहरु पनि तपाईबाट भयो भनेको सुन्दा मलाई अजिव लाग्दथियो ।

दाई तपाईबाट यो हद सम्मको काम कारबाही भएको पाईसके पछि मलाई लाग्यो तपाईले जे जति आन्दोलन र पार्टीको नेतृत्व गर्नु भयो त्यो निकै गर्विलो छ नै तर आजको अवस्थामा समाज रुपान्तरण र परिवर्तनका खातिर समाजवादी आन्दोलनको नेतृत्व अब तपाईबाट सम्भब छैन ।

यस्तै अवस्थामा गएको पौष ५ गते संसद बिघटनको सिफारिस भएको समाचार सुने पछि लामो मौनतालाई तोड्दै फोन गरे । तपाईले भन्नूभयो संसद बिघटन गर्ने कार्य गम्भीर गल्ती भयो । त्यसपछी सोचे अन्य जे जे भएनि तपाईं राजनीतिक मान्छे नै हो । तपाईंसँग भेटेरै गम्भीर कुराकानी गर्ने समय मागे । भेट पनि भयो । भन्नुभयो अहिले धेरै हतार नगरौं । ०५४ सालमा गम्भिर गल्ति गरियो तर अब त्यस्तो गल्ती गर्नु हुन्न । सबैजना एकै ठाउँमा तर ठिक ठाउँमा उभिन पर्छ भनेर छुट्टिएको हामी । त्यसपछि एकै पटक सामाजिक सञ्जाल मार्फत तपाईं त बालुवाटार छिरेर सफथ लिएको थाहा पाँए । गम्भीर भँए । हुनत तपाईं खै के के बाट प्रभाबित भएर हो छिनछिन मै निर्णयहरु परिवर्तन गर्न सक्नु हुन्छ भन्ने त थाहा थियो । तर यती गम्भीर बिषयमा यस्तो जादुमयी फेरबदल होला भन्ने चैं लागेकै थिएन । लाग्यो तपाई भित्र रहेको प्राप्ती प्रतिको चरम आशक्तिले फेरि एक पटक सधैं झै सत्यलाई धोका दिनु भएको छ । खैर दाइ यी सब बिषयको छिनोफानो समयलाई छाडौं ।

आज तपाईं प्राय सबै कार्यकर्ताहरुलाई भेट्ने, फोन गर्ने, आगामी स्थानिय चुनाबको लागि पदको आश्वासन दिने, पार्टी कमिटीको पदहरु बाँडदै हिंडने, स्थानिय तहको मेयर/अध्यक्षहरु लगायत जनप्रतिनिधीहरुको हवाला दिँदै लाभहानीको दलिल पेश गर्ने, विकास बाँड्दै हिड्ने, जागिरको लोभ देखाउने, यस्तो उस्तो गरेको थिए वा गर्दिन्छु भन्ने, हामी एक ढिक्का हुनुपर्छ भन्दै सुन्दा मीठो लाग्ने तर सारमा पुर्णतया भ्रम छर्ने काममा पुरै समय ब्यथित गर्दै हुनुहुन्छ ।

बर्षौं पार्टी बैठकको आवश्यक्ता महसुश गर्नु भएन तर एकाएक मिटिङ्ग, भेलाको शिलसिला प्रारम्भ गर्नु भएको छ । प्रीय दाई, के यो कामले कम्युनिष्ट आन्दोलनको बाँकी अभिभारा पूरा हुन्छ त ? तपाईको यो “लुटि ल्यायो भुटी खायो तरिकाको” भ्रमपुर्ण गतिबिधीले के योगदान गर्छ ? के जनजिवनमा परिबर्तन सम्भब छ ? के पार्टी आन्दोलन भनेको एकढिक्काको नाममा “काले काले मिलेर खाउँ भाले”भने जस्तै हो ? जनताको सर्वोच्व निकाय संसद नभएको समयको ईतिहास पनि हेर्नु भएकै होला ।

तपाईहरु यो अत्यन्तै बेमौसममा चुनाब चुनाब भन्दै हिंड्नु भएको छ । हामीले हिजो राजनीतिक स्थिरता सहित समाजवादी कार्यक्रम लागु गर्छौं । शान्ती, संम्बृद्वी, बिकास र रोजगारको ग्यारेण्टी गर्छौ भन्दै भोट मागेको बिर्सनु भएको छैन होला । दाइ अब फेरि के भन्दै भोट माग्न जानू हुन्छ जनताको बिचमा ? काम गर्न दिएन भन्दै जानू हुन्छ ? माधब प्रचण्डले काम गर्न नदिदा त काम गर्न नदिनेहरुलाई पो नङ्ग्याउनु पर्थियो तर कसरी अन्तर पार्टी संघर्षको कोपभाजनमा संसद पर्‍यो ? के यो सार्‍है गम्भीर बिषय होईन र ?

हिजो रासायनिक मत परेछ अब अर्ग्यानिक मत दिनुस भन्नू हुन्छकी ? तपाईलाई नि राम्रो गरि थाहा छ, एउटा जिवन्त पार्टीमा सधैं वाद, प्रतिवाद र संवाद रहन्छ । यस्ता बिषयहरुलाई हल गर्ने हाम्रो स्थापित विधि, नियम र संगठनात्मक सिद्वान्तहरु छन । के ती नियमहरु, सिद्वान्तहरु पार्टी भित्र लागू गर्नु पर्दैन र ? दाइ तपाईले ३ पटक त मलाई भन्नू भयो, यो बैशाखमा चुनाब हुदैन भनेर । आफ्नै आत्मालाई ढांटेर फेरि किन र के का लागि चुनाब भन्दै हुनुहुन्छ ? मानौं फेरि चुनाब भयो रे तर नियमहरुलाई, कमिटीको निर्णयहरुलाई नमान्ने हो भने फेरि आउने दिनमा वादबिवाद नहुने र प्रधानमन्त्रीले संसद बिघटन गर्दैन भन्ने आधार के छ? यस्तो प्रश्नहरुको बिचमा राजनीतिक स्थिरताको कुरा के हुन्छ? के यी जनताहरुको मनमा गडेको यक्ष प्रश्नहरु होईनन र ? यो संसद बिघटनलाई मान्ने हो भने त मेरो बिचारमा दाइ हरेक २ बर्षमा निर्वाचन हुने गम्भीर खतरा पैदा भएको छ । त्यसो हुँदा केपी वली मन परेको ले र कार्यकर्ता हुनुको नाताले ठिक छ त भनौंला तर संगै नागरिकको हिसाबले अस्थिरता र राष्ट्रिय अर्थतन्त्रको चिन्ता नि संगै हुनु पर्ला ।

दाइ यो ससंद बिघटनको बाटो हुँदै आउने दृश्यहरुको बारेमा फेरि कुरा गरौला तर यति भन्छु संकेतहरु असाध्यै अनिष्ट देखिन्छ । यस्मा दाईको चेत पुगेकै होला भन्ठानेको छु । अर्को कुरा के छ भने अहिले, यो बेलामा पुर्वएमालेहरु एकातिर भन्ने नारा खुब लगाउनु भएको छ ।

वस्तुनिष्ठ र तथ्य कुरा के हो भने २०७५ जेठ २ गते सम्पन्न भएको पाँच बुदे सहमतीको पहिलो नम्बर मै एमाले र जबज स्थगन गर्ने उल्लेख भएको कुरामा स्वयम् केपी वलीले हस्ताक्षर गरेका छन । अब भन्नुस एमाले र जबज कस्ले बिघटन गर्‍यो ? एमाले एक हुने हो भने हिजै एमाले एक थियो नि ! आज एकको कुरा गर्नेहरुले किन हिजो एमाले बिघटन गरे त ? के यो प्रश्नको उत्तर दिन पर्दैन ? आजको गम्भीर स्थितिमा के यो कुनै बिचार, सिद्वान्त र राजनैतिक कुरा हो ? आजको राजनैतिक कुरा त संसद बिघटन र यस घटनाको अन्तर्यमा मुलुककै विधि पद्वतिको हत्या हो भन्ने कुरामा खुद तपाईं पनि जानकार हुनुहुन्छ । भलै नभन्नु अर्को कुरा हो ।

पछिल्लो पटक मैले दाईलाई अनुरोध गरे कि एउटै कार्यक्रम गरौं र त्यहा तपाईं र म बोलौं । ठिक छ यो संसद बिघटन गर्ने कार्य प्रतिगमन र असंबैधानिक होईन भनेर प्रमाणित गर्नु भयो भने सहकार्य गरौं भने । तर तपाईं सहमत हुनु भएन । बहुत दु:ख लागेको छ ।

अन्त्यमा, दाई राजनीतिमा सम्भावनाको सबै ढोकाहरु सदा खुल्ला हुने यथार्थलाई हामी सबैले मनन गर्न सके हामी कुरुप हुन बाट बंच्ने छौ । यस्मा तपाईको योगदान हुनेछ भन्ने आशा लिएको छु । अभिवादन !

उहीँ तपाईंको भाइ अर्जुन राई