बेप्रबाह सत्ता राजनीतिको चक्र कहिले सम्म ?

707Shares

✍️ अर्जुन राई

मान्छेका आफ्ना आफ्ना निजि / पारिवारिक जिवनमा आमाबुबा, दिदीबहिनी, दाजुभाई, जिवनसाथी, सन्तती, आफन्तजन, साथीभाई जति प्रीय हुन त्यसै गरि राजनीतिक जिवनमा एक आस्थावान राजनीतिक कार्यकर्ताको लागि आफू आबद्व पार्टी त्यतिनै प्रीय नहुने कुरै रहेन ।

आज हामी नेकपाका आम कार्यकर्ताहरु जुन बिन्दुमा उभिएका छौं वास्तबमै शोक, नैराश्यता र झट्ट हेर्दा नेतृत्वतहको अबिबेकी, आबेगात्मक र उत्तेजनात्मक कृयाकलापबाट मर्माहत, पिडित र एक प्रकारले अभिशप्त भएका छौं ।

यस्तो अवस्थामा कतिपय साथीभाइहरु पार्टी कतिबेला दुर्घटना होला अनि आफ्नै सहयोद्वा, सहकर्मीहरुलाई तुच्छ, निकृष्ट र गालिगलौचको शब्दहरु प्रयोग गरौंला भनेझैं आफुहरुलाई प्रदर्शित गरिरहेका छन् । यस्ता प्रदर्शनहरु निर्मम र तथ्य ईतिहासप्रती बेखबर, अपरिपक्व र बिबेक प्रयोग गर्ने स्वतन्त्रतालाई सम्मान गर्ने संस्कार, संस्कृती र ज्ञानको अभाब हो भन्ने कुरामा दुईमत छैन । आजको समयलाई सभ्य, सुन्दर, सु-संस्कृत र सम्यम बनाउने जिम्मा नि हाम्रो हो भन्ने कुरा बोध हामीमा हुन सके थप कुरुप हुन बाट आफैलाई र अरुलाई नि बचाउन सकिन्छ नै ।

म नेपाली कम्युनिष्ट आन्दोलनको लगभग कान्छो पुस्ताको अनुयायी र कार्यकर्ता हो । यद्वपी कम्युनिष्ट पार्टीको स्थापनाकाल देखि हुँदै आएको गुट, फुट, बिभाजन र एकताको फेहरिस्त बारे जानकारी राख्दछु ।

२०४६ सालको चैत्र अन्तिम तिर प्रजातन्त्र पुनर्बहालीको घोषणा सँगै स्थानीय राजनैतिक अगुवाहरुले अध्ययनरत कक्षा-६ को कक्षा कोठाबाट निकाली बहुदलिय ब्यबस्था- जिन्दावाद, निर्दलिय पञ्चायत – मुर्दावाद, काँग्रेस कम्युनिष्ट- एक हौं जस्ता नाराहरु घन्काउन लाए संगै बालचेतनामा राजनितिले प्रबेश पाएको थियो ।

२०४८ मा सम्पन्न आमनिर्वाचनमा पोष्टर टांस्दै सुरु भएको राजनीतिक यात्राको क्रममा पार्टी बिभाजन र एकताको पीडा र अनुभव आफैले पनि संगालेको छु । २०५४ फाल्गुणमा तत्कालिन एमाले बिभाजन पश्चात् उत्पन्न परिस्थिती र २०५६ सालको आमनिर्वाचनको क्रममा भोगेका पीडा र दर्दहरु सायदै भन्न सकिएला ।

त्यो बेलाका एमालेजनहरुको आक्रमणमा परि गम्भीर घाईते भै अस्पतालको बसाई, निर्वाचनको परिणाम पश्चात् छाएको आम निराशा, माओवादी आन्दोलनको देशब्यापी प्रभावको पृष्ठभुमीमा नेताहरुको जालसाझीपुर्ण शैली, प्रस्तुती र ब्यबाहरबाट प्रहरी हिरासतको बसाईहरु बिर्सन योग्य छन् ।

२०५४ सालमा पार्टी किन फुटाईयो अनि फेरि किन मिलाईयो भन्ने कुराको कारण फुटाउन र जोड्न नेतृत्व गर्ने स्वयम् बामदेब गौतमले आजसम्म दिएका छैनन । समयक्रम संगै फेरि नेता मिले, पार्टी मिल्यो अनि हामी सबै मिलियो । हिजोका एकातिर राष्ट्रघाती अर्को तिर एक नम्बरको भ्रष्टाचारी देख्ने आँखाहरु बन्द भए । आ-आफ्नै नाराहरु, आरोप प्रत्यारोपहरु आफसेआफ बिलिन भए ।

एकीकरण पश्चात् एमालेको सातौं, आठौं र नबौं राष्ट्रिय महाधिवेशनहरु सम्पन्न भए । ती महाधिवेशनहरुको आन्तरिक समिकरणहरुलाई फेर्केर हेर्नुस त उदेक लाग्दो पाउनु हुनेछ । ती आन्तरिक समिकरणहरु त छदैं थिए त्यस अलवा सत्ता समिकरणहरुलाई नि हेर्न सकिन्छ ।

२०५४ साल पछि कस्ता बिचार र प्रबृत्तिहरुको प्रतिनिधित्व गर्ने ब्यक्ती र पार्टीहरु संगको समिकरणमा सत्ताको यात्रा तय भयो ! ईतिहास साक्षी छ, घोर सामन्ती, दक्षिणपन्थी, पुनरुत्थानवादी, महापञ्चे, छिन्ताङ्ग हत्याकाण्डका नाइके घोषितलाई समेत प्रधानमन्त्री मान्दै सत्तायात्रा अघि बढेको सम्झेपछि अरु धेरै सम्झिरहनु नपर्ला ।

कम्युनिष्ट पार्टीको महासचिव राजसभा स्थायी समितीको सभापति भएको ईतिहास त अलि अघिको भयो । यहि मौसममा समेत राधाकृष्ण मैनाली, बाबुराम भट्टराई र असोक राईहरुलाई हेर्न सकिन्छ । उनिहरुका कम्युनिष्ट आन्दोलनमा पक्कै कम योगदान छैन । फेरि उनिहरु कम्युनिष्ट पार्टीमै एकताबद्व भएमा पनि आश्चर्य हुने छैन ।

पार्टी सत्ताको राप तापमा रहँदा अवसरहरुको बितरण र अवसर पाउने कतिपय ब्यक्ती र प्रबृतिहरुलाई नि हेर्न सकिन्छ नै । लोकमान सिंह कार्की यसको प्रतिनिधि पात्र हुन । यसरी हेर्दा पार्टी र सत्ता राजनीतिको चक्र निश्चित रेखा, नियम र समयमा सञ्चालित देखिएन । बिगत ३ बर्ष अघि यी सबै ईतिहासको शृंखलाहरुलाई क्रमभङ्ग गर्ने उद्घोषका साथ बिल्कुल फरक कार्यनीती, शैली र आन्दोलनका स्वरुपबाट स्थापित दुई कम्युनिष्ट पार्टीहरु हठात झैं लाग्ने गरि दुनियाँलाई चकित पार्दै एकताबद्व भए ।

कतिपय हामीहरु मध्येनै एकतामा त्यत्ती खुशी नहुनेहरुनी छदैं छौं । किन, कसरी, केका लागि एकता भन्ने जस्ता प्रश्नका साथ एकअर्का प्रती शंका नि नगरिएका होईन । एकता प्रकृयालाई परिपक्वताका साथ सम्पन्न गरियो कि गरिएन त्यो हामी सबैले बुझ्न सक्छौं । तहगत पार्टी कमिटीहरुको बैठक, भेलाहरुबाट निर्णित होईन खाली नेताहरुबाट मात्र एकहोरो एकताको रटान र सपनाहरुको आवाज हामीले सुन्नु परेको कटु यथार्थबाट हामी भाग्न सक्दैनौं ।

आज प्रश्न स्वभाबिक बन्न पुगेको छ कि यो एकता दुरदर्शीताका साथ र परिपक्वताका साथ भएको थियो कि थिएन त ! उत्तर २०७५ को जेठ २ गते ५ बुँदे सहमतीमा हस्ताक्षर गर्नेहरुले दिनु पर्ला कि नपर्ला ! निश्चयनै दिनु पर्छ । ईतिहासले दिन लाउने नै छ । जुट्ने कारणहरु र दिने उत्तरहरु जे जे भए नि आजको दिनमा नेकपा कानुनी रुपले बिभाजित भैनसके पनि राजनीतिक र भावानात्मक रुपले फेरि बिभाजित अवस्थामा पुगेको छ ।

यस बिभाजनको दुरगामी असरहरु त समयक्रम सँगै देखा पर्ने छ साथै विश्लेषक र आम मानिसहरुले शंका गरे जस्तो भयंकर षड्यन्त्रको प्रारम्भ हो भने नि त्यो पटाक्षेप हुने नै छ । यस्तो विषम परिस्थितीमा निष्ठाको साथ नेकपामा राष्ट्र र जनताको भबिष्य खोज्ने आम कार्यकर्ताहरुलाई के गर्ने भन्ने जटिल कुराहरुले पिरोलेको छ । जुन स्वाभाबिक हो ।

हुन त बिगत देखि नै हरेक घटनाहरुलाई सैद्वान्तिक आधारमा केलाएर फैसला गर्ने, समर्थन वा बिरोध गर्ने काम न्यून हुँदै गएको हो । त्यसको अलावा आजभोली तत्काल प्राप्ती र अवसर, बैयक्तिक सम्बन्ध, अंक गणितिय नाफा नोक्सानबाट समर्थन वा बिरोध हुने कुरा आम बन्न पुगेको छ । यसले हाम्रा उद्देश्य र गन्तब्य सम्म पुग्ने बाटो र पाटोहरु ओझेलमा परेको कुरा नकार्न सकिन्न ।

अझ पार्टीमा कसलाई कुन समूह समर्थन गर्नु स्वभाविक भए पनि समर्थन वा बिरोधको सैद्वान्तिक आधारहरु, यसको ऐतिहासिक पृष्ठभुमी, प्रबृती, आगमी राजनीतिको सम्भावना, त्यस्ले उत्पन्न गर्न सक्ने राष्ट्रिय परिस्थिती र जनतामा प्रभाब जस्ता बिषयहरुमा बस्तुनिष्ठ विश्लेषण गर्न सकिएमा हामी तथ्य र वास्तबिकताको नजिक पुग्न सजिलो हुनेछ ।

तथ्य र वास्तविकतालाई सर्लक्कै छोपेर गरिने बिरोध वा समर्थन राजनैतिक हुन सक्दैन । तसर्थ यो बिभाजनलाई सैद्वान्तिक, ऐतिहासिक र भबिष्यमा हुन सक्ने, देखिन सक्ने सम्भावानाहरुको जगमा राखेर द्वन्द्वात्मक भौतिकवादी चेतबाट हेर्न सक्नु पर्छ कम्तिमा खरो बिरोध वा समर्थन गर्नेहरुले । यसै परिप्रेक्ष्यमा आज पुर्व एमालेहरु एकातिर वा सूर्य चिन्ह जता, हामी त्यतै भन्ने जस्ता कुराहरु नि सुनिन्छ ।

वास्तवमा त्यो कुरा सहि, राजनीतिक र तथ्यगत बिषय होईन । वास्तविकता त संसद बिघटन भित्रको अन्तर्निहित पाटोहरु हो । बिघटन ठिक हो कि बेठिक हो भन्ने दृष्टिकोण हो र यसको दुरगामी असरको आंकलन गर्नु हो । तथ्य के हो भने हिजो एमाले र माओवादी एकता गर्ने हामी कार्यकर्ता होईन नेतृत्व नै हो । तसर्थ पुर्व एमालेहरु एक ढिक्का हुने कुरा घोर अराजनैतिक र स्वार्थी तर्क हो ।

नेकपा भित्रका कुन समुहले कानुनी मान्यता पाउने भन्ने पनि एउटा बिषय त अवश्य हो तर फेरि पनि राजनीतिक बिषय नै प्रमुख हो । राजनीतिक स्थिरता, धर्म निरपेक्षता, समाबेशी प्रणाली, संघियता र लोकतान्त्रिक गणतन्त्रको जगमा समानता सहितको लोककल्याणकारी सामाजिक ब्यवस्था समाजवादको आधार स्थापना गर्ने मुल बिषयमा आजको यो बिघटन र बिभाजनलाई जोडेर हेर्ने बिषय मुख्य कुरा हो ।

यो संसद बिघटनले के लाई बल पुर्‍याउँछ ? पक्कै पनि समाजवादको आधार तयार गर्ने कुरालाई बल पुर्‍याउँदैन बरु उपलब्धी माथी खतराको संकेत गरेको छ भने राजनीतिक स्थिरताको माध्यम बाट सम्बृद्वी प्राप्त गर्ने नारालाई ठाडो चुनौती दिएको छ ।

यस्तो चुनौतिको बिचमा चुनाबमा जाने कुरा निकै पेचिलो र हाम्रो लागि कष्टकर बन्ने अवश्यमभावी छ । बिघटनको अन्तर्यलाई महशुस गर्न सक्ने हो भने त चुनाब नहुने कुराको तौल भारी छ । तथापी सच्चा कम्युनिष्टहरुको निम्ति सम्भावना खोज्ने बानी परेको हुन्छ नै ।

स्थापित मूल्य मान्यता, विधि, प्रणाली, बिधान, कानुन, संबिधानको भावना र मर्मलाई आत्मसात गर्दै, हालको असंबैधानिक संसद बिघटन गर्ने कदमलाई खारेज गर्दै संभावनाको खोजी गर्नु र बेप्रबाहका साथ फेरो मारिरहेको सत्ता र राजनीतिको चक्रलाई सुल्टो र विधि बिधानको चक्रमा घुम्ने थिति बसाउन सुबिचारित योगदान गर्नु आजको मुख्य कर्तब्य हो भन्ने कुरामा अभिमत जाहेर गर्दै ढिलो चांडो एकै ठाउँ उभिनु आजको आवश्यक्ता हो । धन्यवाद ।

लेखक : नेकपा धनकुटाका सचिवालय सदस्य