नेपालमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै धान उत्पादन

7Shares

काठमाडौं : नेपालमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै धान उत्पादन भएको छ । मौसम अनुकूल भएकाले यस वर्ष धान उत्पादन बढेको हो । धान नेपालको मुख्य खाद्यान्न बाली हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको छ । मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार यो अहिलेसम्मकै सबैभन्दा धेरै उत्पादन हो ।

गत वर्ष नेपालमा ५५ लाख ५० हजार ८ सय ७८ टन धान उत्पादन भएको थियो। गत वर्षभन्दा यस वर्ष धानको उत्पादन ७० हजार ८ सय ३२ टनले बढेको छ ।

कृषि विकास मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीका अनुसार उत्पादन बढे पनि नेपाल अझै धानमा अत्मनिर्भर हुन सकेको छैन । यस वर्ष पनि झण्डै १० लाख टन धन अपुग हुने अनुमान छ । जनसंख्या बृद्धिको अनुपातमा नेपालमा हरेक वर्ष चामलको माग बढ्ने गरेको छ ।

यस वर्ष विगत वर्षभन्दा धान रोपाइँ हुने क्षेत्र १४ हजार ५ सय ५९ हेक्टरले बढेको मन्त्रालयले जनाएको छ । रेग्मीका अनुसार यस वर्ष लकडाउनको कारण पनि सहरबाट मानिसहरु गाउँ फर्किएर धान रोपाइँमा सरिक भए । बाँझै बस्ने जमिनमा पनि धान रोपाइँ हुँदा उत्पादन बढेको हो ।