गैरकानुनी बाटोबाट विदेश गएकालाई पनि तत्काल उद्धार गर्न उपभोक्ता हित समितिले दियाे सरकारलाई निर्देशन

0Shares

काठमाडौं : संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गैरकानुनी बाटोबाट विदेश गएका नेपालीहरुलाई पनि उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ ।

सरकारले विदेशमा अप्ठेरोमा परेका नेपाली उद्धार गर्दा गैरकानुनी बाटोबाट गएकाहरुलाई प्राथमिकता नदिएका बेला संसदीय समितिले उनीहरुलाई पनि तत्काल उद्धार गर्न निर्देशन दिएको हो ।

समितिले गैरकानुनी बाटोबाट विदेश पठाउने व्यक्ति र संस्थालाई मानवओसारप्रसार सम्बन्धी प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न पनि गृह र श्रम र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले एकचोटी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरु जुनसुकै कारणले विदेशमा अलपत्र परे पनि वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी स्वदेश फर्काउन पनि निर्देशन दिएको छ । त्यसका लागि ‘स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका २०७७’ लाई संशोधन गर्न समितिले निर्देशन दिएको छ ।

उडान संख्या थप्नू’

विदेशबाट नेपाली फर्काउन उडान संख्या थप्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको समिति बैठकले स्वदेश फर्कन चाहने सबै नेपालीहरुलाई सुरक्षित तवरबाट नेपाल ल्याउन र त्यसका लागि नियमित उडान संख्या थप्न सरकारलाई भनेको हो ।

नेपाली कामदार रहेका विभिन्न देशस्थित नेपाली राजदूतहरुले पनि नियमित उडान संख्या थप्न माग गर्दै आएका छन् ।

उडान संख्या थप्ने विषयमा परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र म रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग समन्वय गरी निर्णय लिन समितिले सरकारलाई भनेको छ ।

कुटनीतिक नियोगहरुमा प्राप्त सूचनाका आधारमा समस्यामा परेका नेपालीहरुको उद्धार गर्ने कार्य प्रभावकारी बनाउनका लागि कुटनीतिक नियोगहरुमा पर्याप्त कर्मचारी र साधन स्रोतको व्यवस्था गर्न पनि समितिले परराष्ट्र र श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *