नागरिककर्मी सुविद गुरागाईको नेतृत्वमा जारी सत्याग्रहप्रति नेपाल पत्रकार महासंघ प्रदेश १ काे ऐक्यवद्धता

6Shares

विराटनगर : नियमित पारिश्रमिक नदिएको र जानकारी नदिई जागिरबाट निकाल्ने कार्य रोक्नुपर्ने भन्दै सत्याग्रहमा बसेका पत्रकारहरुको आन्दोलनमा नेपाल पत्रकार महासंघ प्रदेश १ ले ऐक्यवद्धता जनाएको छ ।

बुधबार महासंघ प्रदेश १ का महासचिव बिबेक गौतमले प्रेस विज्ञप्ति जारी गरी पत्रकार महासंघ सुनसरीका सदस्य तथा नागरिककर्मी सुविद गुरागाईको नेतृत्वमा जारी सत्याग्रहप्रति ऐक्यवद्धता जाहेर गरेको हो ।

कोरोना भाइरसको महामारीको समयमा जोखिम मोलेर आफ्नो भूमिका निर्वाह गरिरहेका पत्रकारहरुलाई सञ्चार गृहहरुले नियमित पारिश्रमिक नदिनु, न्युन पारिश्रमिक दिनु, बेतलबी विदामा राख्नु र कामबाटै निकाल्नु गैरकानूनी र आपत्तीजनक कार्य भएको महासंघले जनाएको छ ।

नेपाल रिपब्लिक मिडिया प्रा.लि.द्वारा प्रकाशित नागरिक दैनिकले नियमित रूपमा पारिश्रमिक नदिएको र अरु केही सञ्चार गृहले पनि पारिश्रमिक नदिएको र कामबाट निकाल्न खोजिरहेको गुनासो महासंघमा आएकोले यस प्रकारको हर्कत रोक्न महासंघले आग्रह गरेको छ ।

नागरिक दैनिकको डेक्समा बसेर तेस्रो पृष्ठ हेर्दै आएका पत्रकार गुरागाईलाई इमेल पठाएर नागरिकले लकडाउनको समयमा जागिरबाट हटाएको थियो । सो मिडियामा आबद्ध प्रदेश १ मा कार्यरत अधिकांश पत्रकारहरुले पनि पछिल्लो समयमा नियमित पारिश्रमिक नपाएको र पारिश्रमिक पाउनेलाई पनि मासिक २–३ हजार मात्र दिएको महासंघले जनाएको छ ।

श्रमजीवी पत्रकार ऐन विपरित र न्युनतम मानवीय व्यवहार पनि नदेखाई पत्रकारहरुमाथि सञ्चार गृहले गरेको व्यवहारको महासंघले भत्र्सना गर्दै सहज अवस्थामा हुने नाफा सञ्चालकले लिने तर असहज हुँदा श्रमजीवि पत्रकारलाई पारिश्रमिक नदिने जस्ता कार्य नगर्न भन्दै महासंघले यस प्रकारको कार्य नगर्न चेतावनी दिएको छ । महासंघले श्रमजीवी पत्रकार ऐनअनुसार पाश्रिमिक र अन्य सेवा सुविधा नदिने सञ्चार गृहहरुलाई तत्काल सबैखाले सरकारी विज्ञापन प्रकाशनमा रोक लगाउन र कानूनी कारवाहीको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।