नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश

8Shares

काठमाडौं : सर्वोच्च अदालतले हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ ।

गौतमलाई राष्ट्रियसभाको सांसदको मनोनयन गर्ने राष्ट्रपतिको निर्णयलाई ‘यथास्थिति’मा राख्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईकाे इजलासले अर्को आदेश नभएसम्म मन्त्री समेत नबनाउन आदेश दिएको हो ।

सर्वोच्च अदालतमा गौतमलाई सांसद र मन्त्री बनाउन नमिल्ने दावीसहित अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै रुपमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमाथिको सुनुवाइ गर्दै सर्वोच्चले अर्को आदेश नभएसम्म राष्ट्रिय सभा सदस्यको रुपमा काम गर्न र मन्त्री बनाउन पनि रोक लागेको रिट दायर गर्नेमध्येका एक भट्टले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा असोज १ गते राष्ट्रपतिबाट गौतम मनोनित भएका थिए । उनले त्यसैदिन सपथ पनि खाइसकेको थिए ।