तीज पर्वलाई समयानुकूल मनाउँदै जानुपर्ने आवश्यक

277Shares

✍ सुमना तिम्सिना

विश्वभर फैलिएको काेराेना भाइरस कोभिड १९ कारण यस पटक हरितालिका तीजको रमझम सधै झै हर्ष उल्लाषका साथ मनाउन नपाइने निश्चित छ । भाइरस संक्रमणको जोखिम नहुँदा अघिल्ला बर्षहरुमा एक महिना अगाडिदेखि विभिन्न कार्यक्रम गरेर मनाउने चलन यो पटक ब्रेक लागेपनि तीज मनाउने तरिका र चलनमा यसपटक आत्मसमिक्षा गर्ने मौका यो पटक मिलेको छ । हाम्रो चाडलाई समयानुकुल परिस्कृत बनाएर कसरी सबैको दिलदिमागमा राख्न सकिन्छ भन्नेमा अझ सोच्नु पर्ने भएको छ ।

नेपाली महिलाहरुकाे महान चाडकाे रुपमा स्थापित हरितालिका तीज हिन्दु महिलाहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइन्छ । यस पर्वमा खास गरी भगवान शिवको पुजा आराधना मनाइन्छ । पौराणिक कथा अनुसार सत्य युगमा हिमालयपर्वतकी छोरी पार्वतीले महादेब पति पाउँ भनि निराहार ब्रत बसेपछि महादेब पति पाएको किम्बदन्ती छ । सोही अनुसार अहिलेको समयसम्म पनि हिन्दु विवाहित नारीहरुले श्रीमानको सुस्वाथ्य एवं दिर्घायूको कामनाका साथ ब्रत बसेको पाईन्छ भने अविवाहित महिलाहरुले असल श्रीमान् पाउन सकौं भन्ने धार्मिक आस्थाको आधारमा ब्रत बस्ने गरेको पाइन्छ ।

तीज पर्व आफैमा एकदमै रमाइलो पर्व हो । उहिले बर्खाभरी धान, कोदो रोपेर, मकै थन्क्याए पछि एक प्रकारले फुर्सद समय भएपछि एक दुई  दिन भए पनि माईत गएर मिठो मसिनाे परिकारहरु अर्थात (दर) खानका लागि चेलीको घरमा लिन गएर चेली माइती आउने, माइतीमा साथीसंगी भेटघाट गर्ने, घर ब्यबहारका अनेक दुखसुख पोख्ने, मन भुलाउन भेटघाट गर्नेपर्वका रुपमा मनाईन्थ्यो । यसरी तीज मनाउने महिलाहरुले सौभाग्यको प्रतिक रातो सारी, रातो चुरा तथा गरगहना लगाएर दुख–सुखका तीजका माैलिकता झल्कने गीतमा नाचेर रमाइलो गर्ने गर्दछन् ।

तीजको दरखाने दिन दुग्धजन्य पदार्थबाट बनेका परिकार बनाएर आफ्ना चेलीबटीहरुलाई माइतिले खुवाउने चलन रहदै आएको छ । तीजको ब्रत बस्ने अघिल्लो दिन घाम अस्ताउनु भन्दा अगावै खाना खाने र राती उज्यालो हुन भन्दा अगावै उठेर दर खाने र भोलीपल्ट दिनभर श्रीमानको दीर्घायुको लागि निराहार ब्रत बस्ने प्रचलन छ । २४ घण्टासम्म केही नखाई विवाहित महिला ब्रत बस्ने गर्थे भने आजकल असल श्रीमान् पाईन्छ भन्ने विश्वासका साथ अविवाहित महिला पनि यसरीनै निराहार ब्रत बस्ने चलन आएको छ ।

आजको २१ औं शताब्दी, ज्ञान–विज्ञानको चमत्कार, विश्वको बदलिंदो परिवेसमा पनि हिन्दु महिलाहरु माइत गएर वा नगई श्रीमान्, हुनेवाला श्रीमानको दीर्घायुको कामना गर्दै मनाउदै आएका छन् । समयको परिवर्तनसंगै केही कृयाकलाप परिमार्जित भएका छन् भने केही कृयाकलापहरु भड्किलो भएको छन् भन्ने कुरा समाजमा उठ्न थालेका छन् । महिलाहरुको दुख–सुख पोख्ने स्थल माईतिमा चेली–माईति भेट हुने, साथीहरुसंग रमाउने, पतिको दिर्घायुको लागि ब्रत बस्ने जस्ता कार्य हुने गरेको यो चाडमा अहिले आएर फेसनेवला लुगा, गरगहना प्रर्दशन गर्ने होडवाजी बन्न थालेको छ । यसले गर्दा हुनेखाने वर्गका महिलाहरु र हुँदाखाने वर्गका महिलाहरु वीच खाडल बनेको प्रस्ट देख्निन्छ ।

हुन त कतिपय महिलाहरुले भन्ने गर्छन् पुरुषहरुले लगाएको लुगा र दैनिक जस्तो महंगो होटलमा बसेर खाएर गरेको खर्च चाँही नदेख्ने ? समाज महिलाहरुले एक वर्षमा तीजको अवसरमा साथी–संगी भेला भएर खाएको, रमाईलो गरेकोमा औला उठाउने ? समाजमा महिलाहरुले के कति कुरामा विभेद सहनु पर्ने? भन्ने जस्ता बिचारहरु पनि नउठेका छैनन् । तर त्यसलाई समायानुकुल परिमार्जन गरेर तीजको मौलिकता हराउन दिन नहुने कुरामा हामी महिला सजग हुनु पर्ने देखिन्छ । 

दुग्घजन्य पदार्थको परिकार खाएर मनाउने गरिएको यो पर्व अहिले आएर दरको नाममा धुम्रपान, मद्यपान, अन्य परिकारहरु प्रयोग गर्न थालिएको छ । यसले गर्दा चाडवाड खर्चिलो र भड्किलोसँगै  मौलिकता पनि धरापमा पर्न थालेको छ । अहिले त सामाजिक संजालहरुले गर्दा सबैतिरको कृयाकलाप तुरुन्तै हेर्न पाइने भएकाले एकआपसमा देखासिकी गर्ने हुनाले अझ भड्किलो हुने र संकृतिको जगेर्ना नभई विकृति पो फैलिने हुने हो कि भन्ने खतरा बढेको छ । यसलाई यथासक्य खर्चिलो र भड्किलो हुनबाट जोगिएर तीज मनाउनु पर्ने देखिन्छ ।

एउटा प्रसङ्ग जोडौं । दुइजना पुरुष महानुभावहरुले तीज आउनै लाग्दा होटलमा बसेर गफ गरेको मैले सुनेको छु । आज त महिलाले तीजको ब्रत बस्ने दिन  त बजार आउछस् होला नि? उत्तर आयो–आउछु । आइज है मज्जा हुन्छ । आइमाई मान्छेहरु गरगहनाले भरिएर, रातो सारी लगाएर चटक्क बनेर छमछमी नाच्छन्, हेर्न कम्ति मज्जा आउछ । यस भनाईले लाग्छ महिलाहरु अरुको मनोरञ्जनका साधन हुन्, उनीहरुलाई हेरेर अरुले मनोरञ्जन लिईरहेको हुन्छन् । उनीहरुको सुन्दरताको मूल्य अरुले निर्धारण गरिरहेका हुन्छन् । यो एक उदाहरण भएपनि यसबाट के प्रस्ट हुन्छ भने परम्परा र धर्मका नामले महिलाहरुको अस्तित्व समाजको परिधीबाट अझै माथि उठिसकेको छैन । केही महिला बाहेक प्राय महिलाहरुको अवस्था जहाँको त्यहि देखिन्छ । यसरी चाड–पर्व, सामाजिक मुल्य–मान्यता, संस्कार र संस्कृतिका नाममा कतै न कतै अझै महिलालाई पछाडि पार्दै आइएको छ । 

तीजलाई महिलाबादी दृष्टिकोणले हेर्दा श्रीमतीले श्रीमानको दीर्घायुको लागि ब्रत बस्छन् भने के श्रीमानले चाँहि श्रीमतीको दीर्घायुको लागि ब्रत बस्नु पर्दैन ? यो नियम किन बनाएनन् त ? समानताको हक खोई ? आज पनि पत्नीहरु पतिको दीर्घायुको लागि ब्रत बस्ने, ब्रत बसेको दिन श्रीमानको गोडाको पानी खाने गर्दछन् । माया–प्रेम सद्भाव साटासाट गर्ने हो भने शिर निहुर्‍याएर खुट्टाको पानी खादा मात्र माया हुने हो र ? कतै यो दास मनोवृत्ति त हैन ? बरु माया बाड्ने–बढाउने अरु तरिका पनि त होलान । त्यसतर्फ समाजको ध्यान जान जरुरी छ । यसलाई आजका महिलाहरुले बहसको विषय बनाएर समयअनुकुल परिमार्जन गर्नुपर्ने देखिन्छ ।

धर्म र परम्पराको नाममा हामी महिलाहरुले आफैलाई कमजोर नबनाउँ, रुपान्तरणतर्फ अघि बढौं । यसको अर्थ चाडपर्वनै नमनाउँ भन्न खोजेको पनि हैन । समयानुकुल परिवर्तन गर्दै मौलिकतालाई हराउन दिनु हुँदैन । आधुनिकतासँगै कतिपय कुराहरु परिमार्जित गर्दै लैजानु पर्ने देखिन्छ जसले गर्दा तीज भड्किलो पनि नहोस र बिकृति पनि नआवोस । याे अवसरमा सम्पूर्ण नेपाली महिलाहरुमा हरितालिका तीजकाे शुभकामना

लेखक : महिला अधिकारकर्मी

277Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *