पेशागत सुरक्षाको माग गर्दै मिडिया मालिकविरुद्ध पत्रकारहरु सडकमा

13Shares

काठमाडौं : लकडाउनको कारण देखाएर मिडिया हाउसले निकाल्ने, बेतलबी विदामा राख्ने, तलब नदिनेजस्ता गतिविधि बढेपछि पत्रकारहरु सडकमा उत्रिएका छन्। नेपाल पत्रकार महासंघको अगुवाईमा शुक्रबार बबरमहलमा पत्रकारहरुले प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन्। प्रतिष्ठित मिडिया हाउसका कर्मचारी र पत्रकारहरु पनि संगठित भएर सडकमा उत्रिएका छन्।

कान्तिपुर मिडिया ग्रुपका पत्रकार र कर्मचारीले ब्यानरसहित महासंघको कार्यक्रममा एक्यबद्धता जनाएका छन्। लकडाउन सुरु भएसँगै कान्तिपुर, अन्नपूर्ण पाेष्ट, नयाँ पत्रिका, उज्यालो रेडियोसहित नाम चलेका सन्चार माध्यमहरुले पत्रकार तथा कर्मचारीलाई निकाल्ने, बेतलबी विदामा राख्ने, तलब नदिने र दिएपनि आधा मात्र दिनेजस्ता गतिविधी बढेको भन्दै महासंघले आन्दोलन सुरु गरेको हो।

अरुको आवाज हामीले सुन्यौँ। हाम्रो आवाज कसले सुन्ने ?’, ‘सन्चारगृहले कमाएको अर्बौँ मुनाफा खोई?’ लेखिएका प्ले कार्ड बोकेर पत्रकार सडकमा प्रदर्शन गरिरहेका छन्। लकडाउनका कारण देखाएर कान्तिपुर मिडिया ग्रुपले नारी, साप्ताहिक र नेपाल बन्द गरेको छ भने नागरिकल‍े अंग्रेजी संस्करणको रिपब्लिका बन्द गरेको छ।

तलब नपाएको र जागिरबाट निकालिएको विरोधमा शुक्रबार शिक्षकहरुले पनि राजधानीमा प्रदर्शन गरेका छन्। माइतीघरमा निकालिएको प्रदर्शनमा विभिन्न निजी विद्यालयका शिक्षक र कर्मचारीहरुको उपस्थिति छ। लगातारको लकडाउनका कारण विद्यालयहरु बन्द रहेको अवस्थामा तलब नपाएको र जबर्जस्ती जागिरबाट निकालिएको उनीहरुको गुनासो छ।

शिक्षक र कर्मचारीहरुले बोकेको प्ले कार्डमा लेखिएको छ- हाम्रा लागि सरकार कहाँ छ ? विद्यालय व्यवस्थापनसँग तलबको माग गर्दै उनीहरुले आफूहरुसँग आयस्रोतको अन्य विकल्प नभएको बताएका छन्।

13Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *